आयात–निर्यात सहजताका लागि चीनलाई आग्रह



काठमाडौं, (नेस) ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहजरूपमा सामान आयात–निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गर्नुभएको छ । चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात–निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात–निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गर्नुभएको हो ।

मन्त्री रेग्मी चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो । उहाँले चीनबाट भूकम्प, कोभिडजस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा गर्नुभयो । ‘दुःखपर्यो भने हेर्ने छिमेकीले नै हो’,मन्त्री रेग्मीले भन्नुभयो, ‘नाकाबन्दीको बेला नेपालले चीनबाट सहयोग पाएको छ ।’

उहाँले कोभिडको समयमा खोप प्रदान गरेर चीनले नेपाललाई गुण लगाएको बताउनुभयो । छिमेकी देशहरूबीच सहयोगको अपेक्षा हुने उहाँले बताउनुभयो । गरिबी निवारणसम्बन्धीनेपालमा रहेको चिनियाँ फाउन्डेसनले गरेको कार्यक्रममा मन्त्री रेग्मीले फाउन्डेसनलाई परेको समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘केही समस्या पर्छ भने मन्त्रालयमा आउनुहोस्’,मन्त्री रेग्मीले भन्नुभयो–सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध छ ।’

प्रतिक्रिया दिनुहोस्