सामूहिक खेतीले महिलाको जीवनस्तरमा सुधार



सल्यान ।

शारदा नगरपालिका–६ बरलाकी सुन्तली वादीले पहिले जीविकोपार्जनका लागि शारदा खोलामा गिट्टी–बालुवा संकलन गरेर घर–परिवार पाल्ने गर्नुहुन्थ्यो । त्यसले जीवन गुजारा नचल्ने देखेपछि तरकारी खेती गर्ने सोच गर्नुभयो ।

उहाँले गाउँका दिदीबहिनीसित सल्लाह गरेर समूह निर्माण गरी तरकारी खेती शुरु गर्नुभएको छ । उहाँले वार्षिक तरकारी खेतीबाट ४५ देखि ५० हजारसम्मको तरकारी बेच्नुहुन्छ । बरलाकै टीका नेपाली पनि पहिले घरमा बस्दा समय बिताउन गाह्रो हुने गथ्र्यो । श्रीमान्साँग पैसा माग्दा पनि झगडा हुने गथ्र्यो तर अहिले आफैले कमाएको पैसा समूहमा पनि वचत गर्देै आउनुभएको छ । उहाँहरू त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ ।

बरलाका २० जना दलित महिलाले समूह निर्माण गरी तरकारी खेती र माछा पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । घट्टेखोलामा २० रोपनी जग्गा भाडामा लिएर २० जना महिलाले तरकारी खेती र माछा पालन गरिरहेका हुन् । १० रोपनीमा माछा पालन र १० रोपनी जग्गामा तरकारी खेतीबाट वार्षिक एक जनाले ५० हजारभन्दा बढी आम्दानी गरेर जीविकोपार्जन गर्दे आइरहेका छन् । यो सहयोग दलित सेवा संघले गरेको हो । समूह निर्माण भए पनि छुट्टाछुट्टै तरकारी र माछा पालन गर्दै आइरहेको डउरेडाँडा कवुलेयती तरकारी तथा माछापालन समूहकी कोषाध्यक्ष सुन्तली बादीले बताउनुभयो । पहिले सानो सानो कुरामा पनि श्रीमान् तथा घर–परिवारको भर पर्नुपर्ने बाध्यता रहेकोमा अहिले भने आफैंले तरकारी बेचेर जीविकोपार्जन गर्दै आएको उहाँको भनाइ छ ।

दलित सेवा संघ सल्यानले विभेदमा पारिएका समुदादयको जीविकोपार्जनमा सुधारका लागि जोखिमयुक्त दलित परिवारको पहिचान गरी उनीहरुको आयआर्जमा सहयोग पुर्याउने काम गरिरहेको दलित सेवा संघ सल्यानका कार्यक्रम संयोजक यज्ञ विकले बताउनुभयो । सामाजिक, आर्थिक रूपले पछाडि पारिएका दलितहरुका लागि तरकारी खेती माछा पालन र उनीहरुको आयआर्जनमा सहयोग गर्दै आइरहेको उहाँ बताउनुहुनछ । तरकारी खेती गर्नका लागि जग्गा भाडाको पैसा अभाव भएका दलित परिवारलाई संस्थाले नै आर्थिक सहयोग गर्ने गरेको छ ।

बरलाका २० घरधुरी र कालिमाटी गाउँपालिका–३ ढोरेनीमा १० घरधुरीका दलित महिला समूह निर्माण गरी तरकारी र माछा पालनमा लागेको दलित सेवा संघका कार्यक्रम संयोजक विकले बताउनुभयो ।

यस्तै, ग्रामीण दलित घरधुरीको पहिचान गरी एकीकृत घर–बगैंचा कार्यक्रम, कुखुरा पालन, बाख्रा पालन, उन्नत जातका बोका वितरण, सहकारी व्यवस्थापनमा सहयोग गरेको दलित सेवा संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्