प्रदेश–१ मा धान उत्पादन घट्यो



विराटनगर ।

प्रदेश–१ मा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस धान उत्पादनमा करिब ३ प्रतिशतले कमी आएको अनुमान छ । बाढीले धान भित्र्याउने बेला खेतमा नै पुरिदिएको र खेतमा बालुवा थुप्रिएकाले धान उत्पादनमा घटेको हो ।

सधैं ठूलो परिमाणमा धान उत्पादन हुने पूर्वमा यस वर्ष बेमौसमी पानीसँगै आएको बाढीले गर्दा धान उत्पादनमा कमी आएको कृषि विकास निर्देशनालय प्रदेश १ ले जनाएको छ ।
गत वर्ष प्रदेश १ मा ३ लाख ३२ हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा धान लगाएकोमा १३ लाख ११ हजार २ सय ४५ मेट्रिकटन धान उत्पादन भएको थियो भने यस वर्ष ३ लाख ३६ हजार १ सय २३ हेक्टर क्षेत्रफलमा धान लगाएकोमा १२ लाख ७३ हजार ३ सय ५६ मेट्रिकटन धान उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ३७ हजार ८ सय ८९ मेट्रिकटन कम हो ।

कृषि विकास निर्देशनालय प्रदेश १ का कृषि अर्थ विज्ञ नेत्रमणि काफ्लेका अनुसार बेमौसमी वर्षासँगै आएको बाढीले धान बाली अनुमानित करिब १५ प्रतिशत क्षति पुर्याएकाले धान उत्पादनमा कमी आएको हो । उहाँले ‘ धानबालीमा १५ प्रतिशत क्षति भएपनि ३ प्रतिशत मात्र धान उत्पादनमा कमी आयो । बाढी नआएको भए यस वर्ष उत्पादन बढ्ने थियो’ भन्नुभयो ।

कृषि निर्देशनालय विराटनगरका अनुसार झापामा ४ लाख १४ हजार ७ सय ५० मेट्रिकटन धान उत्पादन भएको छ । पूर्वी हिमाली जिल्ला सोलुखुम्बुमा ३५ सय ८५ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ । यस्तै, मोरङमा ३ लाख ३८ हजार १ सय १५ मेट्रिकटन, सुनसरीमा २ लाख ७ हजार ६ सय २३, ताप्लेजुङमा २१ हजार ४ सय ९३, पाचँथरमा २१ हजार ६ सय २७, इलाममा ४८ हजार १ सय १७, धनकुटामा २३ हजार ३९ मेट्रिकटन धान उत्पादन भएको छ ।

यस्तै तेह्रथुममा २० हजार ८ सय ७८, संखुवासभामा ३६ हजार १३, भोजपुरमा ४६ हजार ६ सय ३३, उदयपुरमा ५३ हजार ५ सय २०, खोटाङमा २५ हजार १ सय ५१, ओखलढुङ्गामा १२ हजार ८सय १३ मेट्रिकटन धान उत्पादन भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्