अलैंची जोनको कार्य क्षेत्र विस्तार गरिँदै



ताप्लेजुङ, (नेस) ।

ताप्लेजुङमा अलैंची जोनको क्षेत्र विस्तार भएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएसँगै अलैंची जोनको क्षेत्र विस्तार भएको हो । जिल्लाको नौ स्थानीय तहमध्ये शुरुमा फुङ्लिङ नगरपालिकासहित सातवटा स्थानीय तहमा अलैंची जोन कार्यक्रम लागू गरिएको थियो ।

शुरुमा फुङ्लिङबाहेक मैवाखोला गाउँपालिका, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिबेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकामा कार्यक्रम लागू गरिएको थियो । कार्यक्रम लागू भएका स्थानीय तहका पनि सबै वडा समेटिएका थिएनन् ।

यसअघि छुटेका स्थानीय तह र वडाहरुमा कार्यक्रम क्षेत्र विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन कार्यालयका प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेले बताउनुभयो । क्षेत्र विस्तारसँगै अलैंची जोन कार्यक्रमअन्तर्गत जिल्लाको १ हजार २ सय ३८ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुँदै आएको उहाँको भनाइ छ ।

जोनको क्षेत्रभित्र गरिँदै आएको खेतीबाट ७ सय ३०.५ मेट्रिकटन अलैंची उत्पादन हुने पनि कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । क्षेत्र विस्तार गर्नुअघि जोनअन्तर्गत जिल्लाको १ हजार ३० हेक्टर क्षेत्रफलमा अलैंची खेती रहेको थियो । पछिल्लोपटक २ सय ८ हेक्टर क्षेत्रफल विस्तार गरिएको जोनले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्