सुपरम्यान जिपलाइन जनवरीमै सञ्चालनमा आउने



पर्वत ।

साहसिक खेलको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन एक हप्ता भित्रै सञ्चालनमा आउने भएको छ । कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोंच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

सञ्चालनको तयारीमा रहेको जिप लाइनको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवलोकन गर्नुभएको छ । सबै परीक्षण सकेर एक हप्ताभित्रमा जिपलाइन सर्वसाधरणका लागि खुला गर्ने तयारी रहेको हार्नेस जिपलाइन प्रालिका कार्यकारी प्रमुख सुनील बानियाँले जानकारी दिनुभयो । प्राविधिक परीक्षणका काम भइरहेको छ’, उहाँले भन्नुभयो– ‘जिपलाइनमा दुई जनाले सँगै बस्न सकिने र ६० देखि ९० सेकेन्डमै गन्तव्यमा पुगिनेछ ।’

जिपलाइन भारतको श्याम जिपलाइनले निर्माण गरेको हो । निर्माण कम्पनीका इन्जिनियर नवीन मेस्सीका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा शुरु गर्दा प्रतिघण्टा १ सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ । कालीगण्डकी नदीको सतहबाट २ सय ३८ मिटरको उचाइबाट यात्रा शुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदीकिनारमा बन्ने रिसोर्टमा हुनेछ । सुपरम्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो भएको पनि बानियाँले बताउनुभयो । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको छ ।

जिपलाइनसँगै नेपालमै युनिक रिर्सोट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । रिर्सोटसँगै कालीगण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य सहासिक खेल पनि सञ्चालन गर्ने योजना अघि बढाइएको बानियाँले बताउनुभयो । जिपलाइन अवलोकन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सहासिक पर्यटकको गन्तब्य बनाउन थप खेलहरु थप्दै स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न जरुरी रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्