कालिञ्चोकमा हिमपात, पर्यटक रमाउँदै



दोलखा ।

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात शुरू भएपछि क्रिसमस पर्व मनाउन पुगेका नेपाली तथा भारतीय पर्यटक उत्साहित भएका छन् । शुक्रबार दिउँसोबाट कालिञ्चोक क्षेत्रमा हिमपात शुरू भएको थियो ।

कालिञ्चोकमा शुक्रबार दिउँसो केही समय हिमपात भएको थियो । शुक्रबार राति र शनिबार दिउँसोसमेत हिमपात भएपछि अहिले कालिञ्चोकको मन्दिर आसपास, कुरी र वरिपरिका पहाडहरू सेताम्य भएका छन् । लगातारको हिमपातले पूरै पहाड सेताम्य भएपछि क्रिसमसका लागि कालिञ्चोक आएका पर्यटक उत्साहित बनेको होटल सुनपाति कुरीका विमल ओझाले बताउनुभयो । पछिल्लो समय कालिञ्चोकमा नेपालको तराई तथा काठमाडौं उपत्यकासँगै भारतको विभिन्न ठाँउबाट समेत ठूलो संख्यामा पर्यटक आउन थालेको स्थानीय होटल व्यवसायीहरूले बताएका छन् ।

मौसममा आएको परिर्वतनसँगै पुसको पहिलो साताबाटै कालिञ्चोकमा चिसो बढेको थियो । शुक्रबारबाट हिमपात शुरू भएपछि पर्यटकको संख्या बढेको होटल सुनपातिका ओझाले बताउनुभयो । ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा पुसदेखि चैतसम्म अत्याधिक हिमपात हुने गरेको छ । कोरोनाका कारण सुस्ताएको कालिञ्चोकको पर्यटकीय चहलपहल विस्तारै शुरू भएको स्थानीय बताउँछन् ।

शनिबार क्रिसमस पर्वको दिन झण्डै दुई हजार पर्यटक त्यस क्षेत्र पुगेको होटल सुनपातिका विमल ओझा बताउनुहुन्छ । कालिञ्चोकमा हिमपात शुरू भएपछि कुरी क्षेत्रमा रहेका ६० भन्दा बढी साना तथा ठूला होटलहरू भरिएको होटल व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्