आर्थिक विकासका लागि लगानी सम्मेलन



तनहुँ, (नेस) ।

समग्र आर्थिक विकासका लागि तनहुँमा लगानी सम्मेलन गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका सबै क्षेत्रको आर्थिक विकास गर्ने उद्देश्यका साथ लगानी सम्मेलन गर्ने भएको हो ।

विज्ञहरूको सहकार्य तथा समन्वयमा लगानी सम्मेलन गर्ने तयारी भइरहेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको उद्योग, व्यापार, पर्यटन क्षेत्रको विकास प्राथमिकतामा रहेकाले विज्ञहरूसँगको सहकार्य र समन्वय गरी सम्मेलन गर्न खोजिरहेको उहाँले बताउनुभयो ।

जिल्लाका सम्भाव्यताको अध्ययन गरी एउटै फोरमलाई एक ठाउँमा ल्याएर सम्बन्धित विशेषज्ञहरूसँग सहकार्य गरी समग्रको जिल्लाका विकासका लागि सम्मेलन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । आठौं तनहुँ महोत्सवपश्चात् लगानी सम्मेलन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

‘महोत्सवको एक वा डेढ महिनाको अन्तरालमा दमौली बजारमा नै लगानी सम्मेलन हुन्छ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘यसको कन्सेप्ट पेपरसमेत तयार भइसकेको छ, महोत्सवको बीचमा नै गर्ने योजनासमेत बनाएका थियौं, तर, महोत्सव ओझेलमा पर्नसक्ने भएकाले पछाडि धकेलेका छौं ।’

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, जिल्लाका स्थानीय सरकारसँगको छलफल तथा सहकार्यपछि लगानी सम्मेलनका विषयमा सार्वजनिक गर्ने उहाँले बताउनुभयो । ठूला, साना, मझौला किसिमका उद्योग व्यवसाय, एनआरएनएको सहकार्य समन्वयमा लगानी सम्मेलन हुने उहाँको भनाइ छ ।

लगानी सम्मेलनमा तनहुँ उद्योग वाणिज्य संघ, जिल्लाका सबै स्थानीय तह, उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश उद्योग तथा वाणिज्य मन्त्रालय तथा संघीय अर्थ मन्त्रालयलगायतको सहकार्य रहनेछ ।

प्रतिक्रिया दिनुहोस्