चौरी पालेरै वार्षिक १० लाख आम्दानी गर्छन् तामाङ



रसुवा ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ठूलो भार्खु निवासी बिबिरानी तामाङ र उहाँका श्रीमान् फुर्पा डिन्डुप तामाङले विगत सात वर्षदेखि व्यवस्थित चौरी पालन गर्दै आउनुभएको छ । चौरी पालेरै उहाँहरूले वार्षिक १० लाख आम्दानी गर्र्दै आउनुभएको छ ।

फुर्पाले ५ वर्ष चिज उत्पादन केन्द्रमा काम गरेर विदेशी भूमिमा काम गर्न गएका थिए । कुवेतमा सेक्युरिटी गार्डका रूपमा करिब १० वर्ष काम गरेर उनी आफ्नो गाउँथलो फर्के । भार्खु फर्केका फुर्पाले तेत्तिकै बस्नुभन्दा केही काम गर्नुपर्छ भनेर हिमाली आयोजनामा चौरी पालनका लागि निवेदन दिए । अनुदानमा उनले शुरूमा १८ वटा चौरी ३० हजारका दरले किने ।

विदेशमा कमाएको पैसाले १८ बाट २०, ३० गर्दै ७ वर्षको अन्तरालमा ३५ वटा चौरी पालेका छन् । अहिले प्रतिचौरीको मूल्य ६० देखि ७० हजार पर्दछ । तामाङ दम्पतीले ‘दैनिक ६० लिटर दूध बिक्री गर्ने गरेका छौं’, बिबिरानी भनन्नुहुन्छ– ‘चौरी फागुन/चैतमा ब्याएको चौरीले असोजसम्म दूध दिन्छ ।’ चौरीको दूध दुग्ध विकास केन्द्र लैनचौर काठमाडौंले लिने गरेको उहाँको भनाइ छ ।

बाबुबाजेदेखि नै चौरी पाल्दै आए पनि व्यावसायीरूपमा अहिले आफूले पालनपोषण गर्दा राम्रो आम्दानी भएको तामाङ दम्पतीको कथन छ । अहिले ‘गोसाइँकुण्ड चौरी फर्म’ दर्ता गरेर व्यवसाय शुरू गरेको बिबिरानी बताउनुहुन्छ । वार्षिकरूपको ६–६ महिनाको अन्तरालमा १० लाख कमाइ हुने उहाँ बताउनुहुन्छ । दश जनाको परिवार यसै पेसाबाट चलिरहेको उनीहरूको भनाइ छ । बाँझो बारीमा कोदो, मकै, फापर, सागसब्जी, काउली, बन्दा, गोलभेंडा, लसुनसमेत तामाङ दम्पतीले लगाएका छन् । तामाङले चौरीलाई जाडो महिनाको ३ महिना बेंसीमा र गर्मीयाममा लेकमा राख्ने गरेका छन् ।

सरकारले अनुदान दिँदा चौरीपालक हो/होइन अनुसन्धान गरेरमात्रै अनुदान दिए राम्रो हुने उहाँहरूको राय छ । अहिले टाठोबाठो तथा चौरी पालेको अनुभव नै नभएकाले सरकारबाट अनुदान र पुरस्कार पाउने गरेको फुर्पाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्