भुमिकास्थान ७ का विभिन्न स्थानमा खानेपानीको समस्या  



कृष्ण परियार, सन्धिखर्क । 

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा खानेपानीको समस्या भएको छ । साबिकको नुवाकोट गाबिसका विभिन्न स्थानमा विगत एक महिना देखि खानेपानीको समस्या भएको स्थानीयले बताएका छन् ।

गाउँमा मोटर बाटो बिस्तार तथा सरसफाइ गर्ने क्रममा सञ्चालन गरिएको डोजरले फालेको ढुङ्गाले खानेपानीको पाइपमा क्षति पुग्दा विगत डेढ महिना देखि स्थानीय गाउँमा खानेपानी रोकिएको हो । गाडेपको योजना अन्त्रगत सञ्चालनमा रहेको खानेपानीको विभिन्न स्थानमा जिआई पाइप भाँच्चिएको र वोल्डिङ्ग गरेर जडान गर्नु पर्ने भएकोले समस्या भएको उपभोक्ता समिति सदस्य तथा स्थानीय केशब थापाले बताए ।

उनले भने बनाउने प्रयास गरेको हौ तर जडान गरेको केही समयमा नै पाइप आफै फुट्ने समस्याले गर्दा समस्या समाधान हुन सकेको छैन ,जसले गर्दा स्थानीयले खानेपानीको लागी समस्या भोग्नु परेको उनले थपे । खानेपानीको जोहो गर्न स्थानीयहरू अहिले आधा घण्टा भन्दा धेरै समय लगाएर कुवा तथा पधेरोमा धाउन बाध्य भएका छन् । अहिले स्थानीयलाई गाउँदेखि टाढा रहेको मुहानमा पुगेर पानी भर्नुपर्ने बाध्यता रहेको छ।

साबिकको नुवाकोट गाविसको भर्थुम, पाल्पाली टोल, पातुङ्गा, कमलपोखरी, मुन्द्रेटोल, बाँधखर्क, पानडाँडा, मनवाग, घोराखरी, लागायतका टोलका करिब ५०० घरधुरीले खानेपानीको समस्या झेल्नुपरेको छ । वि.स. २०५७ सालमा गाडेपको योजना अन्त्रगत कुल ३५ लाख लागतमा निर्माण भएको खानेपानी योजना २०५९ सालमा सम्पन्न भएसङै स्थानीयले खानेपानी प्रयोग गर्दै आएका थिए । ७०० घरधुरीको लागी कुल ९१ धारा निर्माण गरी खानेपानी वितरण गर्दै आएको योजनामा बेला बेलामा बिग्रिदा  स्थानीयलाई समस्या हुने गरेको छ ।

गत कार्तिक महिनामा भएको बेमौसमी वर्षाले गर्दा मुहानमा पुगेको क्षतिले करिब डेढ महिना सम्म पानी आएको थिएँ । कहिदिन मात्र भएको थियो पानी सुचारु भएको फेरि बिग्रिएको छ स्थानीयले भने ।  उपभोक्ताहरूले पानी प्रयोग गरे बापत मासिक १५ रुपैयाँ तिर्ने गरेका छन् ।

भुमिकास्थान नगरपालिका १० स्थित सेङलेङमा मुहान रहेको र करिब २० किलोमिटरको टाढा बाट पानी ल्याउनुपर्ने बाध्यताले गर्दा पनि बेला बेलामा समस्या आउने गरेको छ । उपभोक्ता समितिका अध्यक्ष बुद्धिराम गरै सन्धिखर्कमा बस्दै आएको र सचिव बुटवलमा बस्दै आएकाले पनि समस्या आउँदा मर्मत गर्न उनीहरूले चासो नदेखाउने गरेको गरेको उपभोक्ता समिति सदस्य थापाले बताए । कोरोना महामारीको कारण देखाउँदै उपभोक्ता समितिको नयाँ नेतृत्व पनि चयन हुन नसकेको हो ।

भुमिकास्थान नगरपालिका भित्रका विभिन्न वडाहरूमा खानेपानीको समस्या हुने गरेको छ । खानेपानीको लागी आधा घण्टा देखि एक घण्टा सम्म धाएर ल्याउनु पर्ने बाध्यता रहेको छ । नगरपालिकाको वडा नम्बर ८ का केही स्थानहरूमा कहिदिन पहिले लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न भएसङै अहिले सहज भएको छ ।

अहिले पानीको समस्या रहेका नुवाकोट साबिकको १ वडालाई मध्यनजर राख्दै प्रदेश सरकारको योजना अन्त्रगत १ करोड १६ लाखको लागतमा पञ्चवर्षीय योजना अन्त्रगत ओखर पाटा लिफ्टिङ्ग खानेपानी बनिरहेको उपभोक्ता समिति अध्यक्ष पदम रायमाझीले बताए । अहिले पानी सङ्कलन गर्न ४ वटा ट्याङ्की निर्माण भई सकेको र पाइप जोड्ने कार्य भइरहेकोले अब करिब १ वर्ष भित्र खानेपानी वितरण गर्न सकिने अनुमान रहेको अध्यक्ष रायमाझीको भनाई छ ।  २ वटा पम्पिङ्ग मोटर राखेर यो योजना निर्माण गरिदैं छ ।  यो योजना सम्पन्न भएसङै करिब २०० घरधुरी लाभान्वित हुने रायमाझीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्