वीरगन्ज नाकाबाट निर्यात कारोबार बढ्यो



वीरगन्ज ।

मुलुककै प्रमुख भन्सार नाकामध्येको वीरगन्ज भन्सारबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा आयात निर्यात कारोबार उल्लेख्य बढेको छ । भन्सार कार्यालयका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा २ खर्ब ९० अर्ब ८५ करोड रुपियाँको मालसामान आयात हुँदा यस नाकाबाट ४९ अर्ब ४१ करोड रुपियाँ बराबरको स्वदेशी उत्पादन विदेशमा निकासी भएको छ ।

साउनदेखि मंसिरसम्मको अवधिमा वीरगन्ज भन्सार नाकाबाट कुल ३ खर्ब ४० अर्ब २६ करोड रुपियाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार यो व्यापार परिमाण गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ८७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको उक्त अवधिमो लकडाउनले वैदेशिक व्यापार घटेकोमा चालू आर्थिक वर्षमा व्यापार लयमा फर्किएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो।

तुलनात्मक रूपमा वैदेशिक व्यापार बढेपछि त्यसको सकारात्मक प्रभाव भन्सारले उठाउने राजस्वमा पनि देखिएको पौडेलले बताउनुभयो । आयात निर्यात कारोबार बढेपछि भन्सारले उठाउने राजस्वमा त्यसको प्रभाव देखिएको भन्दै पौडेलले मंसिरसम्मको राजस्व, लक्ष्यभन्दा ७ प्रतिशतले बढी उठेको बताउनुभयो ।

वीरगन्ज नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, सवारी साधन, औद्योगिक कच्चा पदार्थ बढी आयात हुन्छ । यस्तै वीरगन्ज नाकाबाट भटमासको तेल, फलफूलको जुस, जुत्ता, सूर्यमुखीको तेल, छाला, कपडालगायत वस्तु विदेशमा निर्यात हुँदै आएको वीरगन्ज भन्सारले बताएको छ।

प्रतिक्रिया दिनुहोस्