बगरमा तोरी खेती



बाँके ।

डेढ दशकअघि पञ्चराम यादवको परिवार छिटैपुरूवामा बस्थ्यो । राप्ती नदीको बाढीले पञ्चरामको उठीबास लगायो । पञ्चरामका परिवार विस्थापित भएर पाँजामा सरे ।

वि.सं. २०७१ सालमा आएको ठूलो बाढीपछि राप्ती नदीले धार परिवर्तन गर्यो । छिटैपुरूवा, पिप्रहवा, सिम्रहना, टेपरीगाउँलाई छोडेर राप्ती नदी पूर्व–उत्तरतिर बग्न थाल्यो । राप्ती नदीको डुवान, कटान र पटानले बगर बनेको छिटैपुरूवामा फेरि अन्नबाली उत्पादन शुरू भएको छ ।

दशक बढी बालुवा थुप्रिएको आफ्नो खेतमा लहलह तोरी फुल्दा पञ्चराम मख्ख छन् । ‘खेती हुन थालेको दुई वर्ष भएको छ । आफ्नो खेतको तोरी देखाउँदै पञ्चरामले भन्नुभयो– ‘हेर्नुस् न, कति राम्रो तोरी फुलेको छ, हेर्दा नि लोभलाग्दो छ । राप्ती नदीले धार परिवर्तन गरेपछि हाम्रो जीवनको धार लयमा फर्किन थालेको छ ।’

पञ्चरामको भौतिक शरीर त पाँजामा बस्छ । मन, मस्तिष्क छिटैपुरूवामै हुन्छ । बिहान उठ्नेवित्तिकै छिटैपुरूवामा आउने पञ्चराम साँझ परेपछि मात्रै पाँजामा पुग्नुहुन्छ । ‘मेरो जग्गा यतै छ । दिनभरि काम यतै हुन्छ । पाँजामा त सुत्न मात्रै जान्छु, पञ्चरामले भन्नुभयो, जीवन नै यतै छ ।’

राप्ती नदी बग्दासम्म पञ्चरामको खेतमा कुनै उत्पादन हुँदैनथ्यो । राप्ती नदीले धार परिवर्तन गरेको केही वर्षसम्म पनि पञ्चरामले आफ्नो खेतमा कुनै उत्पादन गर्नु भएन । बरू उहाँको खेतमा अर्कैले उत्पादन गरेर लग्यो । पछिल्लो दुई वर्षदेखि पञ्चरामले आफै खेती गर्न शुरू गर्नुभएको छ ।

पाँजामा बस्ने राकेश यादवको पनि अवस्था पनि पञ्चरामको जस्तै छ । राकेशको पनि जग्गा छिटैपुरूवामा छ । राकेशको केही जग्गामा अझै अर्कैले खेती गरिरहेको छ । राप्ती नदीको डुवान, कटान र पटानले खेतीयोग्य जमिन बगरमा परिणत भएपछि कुन जग्गा कसको हो, छुट्याउन गाह्रो भएपछि जसले सक्छ, उसले नै खेती गर्ने हुन थाल्यो । यस्तो बाहुबलीको शिकार केही वर्ष पञ्चराम र राकेश भएका छन् ।

डेढ दशकअघि राप्तीमा ठूलो बाढी आउदा छिटैपुरूवा, टेपरी, सिम्रहनाका ४६ घरपरिवारलाई सामुदायिक वनमा लगेर राखिएको थियो । त्यहाँबाट केही पाँजामा सरे । कोही आफ्नो पुरानो ठाउँमा फर्किएका छन् । राप्ती नदीले धार परिवर्तन गरेपछि यी आधा दर्जन गाउँका मानिसले ठूलो राहत पाएका छन् ।

छिटैपुरूवा छेउबाट अहिले डुडुवा खोला बगिरहेको छ । डुडुवामा पनि वर्खामा ठूलै बाढी आउने गर्दछ । राप्ती नदीले धार परिवर्तन गरेपछि डुडुवाको भलले ठूलो नोक्सानी पुर्याएको छैन । केहीको जग्गामा भने अहिले डुडुवा बगिरहेको छ ।

टेपरीका मुनीजर यादवले आफ्नो खेतमा डुडुवा खोला बगिरहेको बताउनुभयो । बाटोपारी घर बनाएर बसेका यादवले बाटोपारी बगेको डुडुवा र त्यसको आसपासको जग्गा आफ्नो भएको बताउनुभयो । यादवको परिवार दुई वर्ष हजरत सामुदायिक वनमा गएर बस्यो । जग्गा यतै थियो । एक कठ्ठा दिएर राखेको सामुदायिक वनमा यादवलाई बस्न मन लागेन ।

प्रतिक्रिया दिनुहोस्