जनकपुरमा बन्दै आधुनिक जनस्वास्थ्य प्रयोगशाला



काठमाडौं ।

प्रदेश २ को राजधानीसमेत रहेको जनकपुरमा प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला निर्माणको काम अगाडि बढेको छ । सातैवटै प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने सरकारको नीतिअनुरूप जनकपुरमा पनि पहिलोपटक आधुनिक प्रयोगशाला निर्माणको काम अगाडि बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माणअन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाले प्रयोगशाला निर्माणको काम अगाडि बढाएको छ । प्रदेश २ मा प्रयोगशाला नहुँदा सास्ती झेल्दै आएका प्रदेशवासीको स्वास्थ्य सेवालाई ध्यान दिँदै सरकारले प्रदेश स्तरमै सर्ने/नसर्ने रोगको परीक्षण गर्ने प्रयोगशाला निर्माणको काम अगाडि बढाएको छ । प्रयोगशाला निर्माणमार्फत सर्वसुलभ रूपमा नागरिकलाई सेवा प्रवाह गर्ने उद्देश्य सरकारले लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्र परिसरभित्र निर्माण हुन लागेको प्रयोगशालासँगै मेडिकल स्टारको शहरी विकासमन्त्री रामकुमारी झाँक्री, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर शाहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ । मन्त्री झाँक्रीले सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर कार्यक्रम अगाडि बढाएको बताउँदै स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा सरकारले पर्याप्त ध्यान दिने बताउनुभयो । जनस्वास्थ्य प्रयोगशाला र मेडिकल स्टोर निर्माण भएपछि प्रदेशस्तरमै सेवा सुविधा पुर्याउन सहज हुने बताउँदै उहाँले नागरिकलाई सहज रूपमा आधारभूत सेवा दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । झाँक्रीले भन्नुभयो–‘सरकारले ल्याएको स्वास्थ्य योजनालाई सफल बनाउन तीन तहको सरकार मिलेर अगाडि बढ्नुपर्छ ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनस्वास्थ्य प्रयोगशाला र प्रदेश मेडिकल स्टोर भवनको निर्माणपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँलै तीनै तहबीचको समन्वय र सहकार्यको अनुपम उदाहरण भएको बताउँदै नयाँ प्रयोगशाला निर्माण भएपछि नागरिकलाई सहज रुपमा सेवा पुर्याउन मद्दत गर्ने बताउनुभयो । शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले नागरिकको स्वास्थ्यसँग जोडिएको स्वास्थ्य पूर्वाधार निर्माणको काम यथाशीघ्र सम्पन्न गरिने बताउनुभयो । उहाँले तोकिएकै समयसीमाभित्र नै प्रयोगशाला र मेडिकल स्टोर निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शहरी विकास तथा भवन निर्माण विभागलाई प्राप्त भवन निर्माणसम्बन्धी अख्तियारीअन्तर्गत आर्थिक वर्ष २०६१/०६२ देखि हालसम्म १८ सय ९० वटा विभिन्न स्वास्थ्य संरचनाहरू निर्माण गरेर हस्तान्तरण गरिएको बताउनुभयो । ७ करोड २७ लाख लागतमा निर्माण हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाको साढे तीनतले भवन २०८० साल वैशाख ९ गतेभित्र सम्पन्न हुनेछ । त्यसै गरी केन्द्रभित्र नै ४ करोड ४२ लाखमा निर्माण हुने दुईतलै प्रदेश मेडिकल स्टोरसमेत डेढ वर्षभित्र निर्माण हुनेछ ।

भवन विभागअन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाइ धुनुषाका निमित्त आयोजना प्रमुख प्रदीप खनालले आगामी १८ महिनाभित्र जनस्वास्थ्य प्रयोगशाला र मेडिकल स्टोर निर्माण गरेर प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिने बताउनुभयो । ठेक्का सम्झौता गरेर काम अगाडि बढाइसकेको बताउँदै उहाँले नागरिकको स्वास्थ्यसँग जोडिएको प्रयोगशाला र मेडिकल स्टोर छिटोभन्दा छिटो सम्पन्न गरिने बताउनुभयो ।

प्रयोगशाला निर्माण भएर सञ्चनलनमा आएपछि प्रदेश २ का आठ जिल्लाका नागरिकलाई राजधानी काठमाडौं जानुपर्ने बाध्यता हट्ने भएको छ । प्रयोगशालामा सर्ने/नसर्ने रोगको परीक्षण गर्ने आधुनिक प्रविधि जडान गरिनेछ । त्यसै गरी जनकपुरमा निर्माण हुन लागेको मेडिकल स्टोरमा प्रदेशभित्रका स्वास्थ्य संस्थामा आपूर्ति हुने औषधी भण्डारण गरिनेछ । आधुनिक र प्रविधिमैत्री रूपमा निर्माण गर्न लागिको मेडिकल स्टोर निर्माण भएपछि प्रदेश काठमाडौंमा स्टोर गरेर ल्याउने बाध्यतासमेत हट्ने भएको छ । प्रदेश सरकारले ग्रामीण जनस्वास्थ्य हाताभित्र प्रयोगशाला र मेडिकल स्टोर निर्माण गर्न तीन/तीन विगा जग्गा उपलब्ध गराएको छ ।

त्यसै गरी सोही परिसरभित्र निर्माण भएको कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह पनि सञ्चालनमा आएको छ । गृहको मन्त्री झाँक्रीले उद्घाटन गर्नुभयो । हाल प्रदेश १ को विराटनगर र वागमती प्रदेशको राजधानी हेटौंडाबाट कोभिडविरुद्धको खोप ल्याउने बाध्यता भण्डारण गृह सञ्चालनमा आएपछि हटेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादवले प्रदेशस्तरमै भण्डारण गृह निर्माण भएपछि धेरै सहज भएको बताउनुभयो । स्वास्थ्य मन्त्रालय अगाडि सारेको भण्डारण निर्माणको काम शहरी विकास विभागअन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाइले ५९ दिनमा निर्माण सम्पन्न गरेको थियो । भण्डारण गृहभित्र युनिसेफको सहयोगमा हाल ४ हजार लिटर वाकिङकुलर जडान भएपछि खोप भण्डार केन्द्र सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्