किसानले गरे सिडियो कार्यालय घेराउ



विद्यानन्द राम, राजविराज ।

रासायनिक मल नपाएको भन्दै आक्रोशित सप्तरीका किसानहरुले बुधबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । दुई सातादेखि निरन्तर धाइरहँदा पनि कृषि सामग्री कम्पनी लिमिटेड र सहकारीहरुले रासायनिक मल नदिएपछि किसान आन्दोलित भएका हुन् ।

राजविराजस्थित तेतरीगाछीबाट सयौंको संख्यामा किसानले निकालेका जुलुस पसलहरु बन्द गराउँदै नेता चोक, गजेन्द्र चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । जुलुससहित कार्यालय पुगेका किसानहरुले प्रमुख जिल्ला अधिकारीविरुद्ध चर्को नाराबाजी गरेका थिए । ‘दुई सातादेखि निरन्तर हामी कृषि सामग्री र सहकारीहरुमा धाउँदै आएका छौं’, किसान रवीन्द्र कुमार साह भन्नुहुन्छ– ‘तर पनि मल पाइएन । एक त बेमौसमी वर्षाले हाम्रो धान खेती बर्बाद भएर लगानी पनि उठ्न सकेको छैन, अहिले गहुँ छर्ने बेला मल पाउनै गाह्रो ।’ मल पाउँदा पनि महँगो मूल्य भन्ने गरेको उहाँको कथन छ ।

गहु छर्ने बेलामा रासायनिक मल नपाउँदा आफूहरु मारमा परेकाले आन्दोलित हुनुपरेको अर्की किसान सुशा देवको कथन छ । ‘आखिर किसानले मात्रै कति मार खेप्ने ? हाम्रो लागि त स्थानीयदेखि प्रदेश र संघ सरकार पनि उदासीन बनेको छ’, उहाँ भन्नुहुन्छ–‘आन्दोलनबाहेक के विकल्प छ हामीसँग ?’

प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले किसानलाई बोलाएर छलफल गर्नुभएको छ । छलफलमा प्रमुख जिल्ला अधिकारी गौतमले मागअनुसारको मल आपूर्ति नहुँदा वितरणमा समस्या भएको बताउनुभयो । ‘यहाँ ३५ हजार बोरा मलको माग रहेको अनुमान छ तर ७ हजार ८ सय ३० बोरा जति मात्रै मल आपूर्ति भएको छ, त्यस कारणले वितरणमा समस्या आएको हो ।’ –उहाँले भन्नुभयो । यद्यपि थप मल ल्याउने प्रयासमा लागिरहेको अधिकारीको भनाइ छ । तत्काललाई आज बिहीबारदेखि लाइनमा बस्ने प्रतिकिसानलाई २५–२५ किलो मल उपलब्ध गराइने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्