अस्पतालको फोहोर सामुदायिक वनमा



कुमार श्रेष्ठ, बाँके ।

अस्पतालबाट दुई प्रकारका फोहोर निस्किन्छन्, सामान्य र संक्रमित । संक्रमित तथा जोखिमयुक्त फोहोर जहाँ पायो त्यही फाल्नु हुँदैन । निर्मलीकरण गर्नुपर्छ । नेपालगञ्जका अस्पताल तथा क्लिनिकबाट निस्किने फोहोर सामुदायिक वनमा फाल्ने गरेको पाइएको छ । कोहलपुरको सरस्वती सामुदायिक वनमा लगेर अस्पतालजन्य फोहोर फाल्ने गरिएको हो । जुन वातावरणीय दृष्टिकोणले हानिकारक मानिन्छ ।

नेपालगञ्जमा अस्पतालजन्य फोहोर फाल्ने ठाउँ छैन । अस्पतालहरूले ‘मिलेको ठाउँमा’ फोहोर फाल्ने गरेका छन् । पछिल्लो समयमा नेपालगञ्जका सबै अस्पताल तथा क्लिनिकले सामुदायिक वनमा फोहोर फालिरहेका छन् । फोहोर व्यवस्थापनका लागि क्लिनिक तथा अस्पतालहरूले १ हजार ५ सयदेखि ७० हजार रुपियाँसम्म मासिक तिर्ने गरेका छन् ।

नेपालगञ्ज मेडिकल कलेज, भेरी अस्पतालबाट धेरै फोहोर निस्किन्छ । मेडिकल कलेजले मासिक ७० हजार रुपियाँ र भेरीले ५६ हजार रुपियाँ तिरेर फोहोर फाल्ने गरेका छन् । वेस्टर्न अस्पतालले १४ हजार तिर्छ भने अन्य क्लिनिकले १ हजार ५ सय, ३ हजार, ५ हजार मासिक तिर्छन् ।

अस्पतालहरूले फोहोर फाल्न पाए । उनीहरूको हिसाबले राम्रो भयो । तर, सामुदायिक वनमा लगेर जथाभावी फाल्नु वातावरणीय दृष्टिले राम्रो मानिँदैन । अस्पतालले सुइलगायत हानिकारक वस्तु फाल्छन् । त्यो जथाभावी फालिँदा त्यसले वनमा जाने मानिस, जनावरलाई असर पार्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले अस्पतालजन्य फोहोर जहाँ पायो, त्यही फाल्न नहुने बताउनुभयो । ‘अस्पतालबाट दुई प्रकारका फोहोर निस्किन्छन् । संक्रमित फोहोरलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्छ’, वातावरण इन्जिनियर डिसीले भन्नुभयो– ‘त्यसलाई जहाँ पायो, त्यही फाल्नु हुँदैन ।’

सन् २०१९ को रिपोर्ट अनुसार नेपालगञ्जका अस्पतालबाट दैनिक १ हजार २ सय ४२ किलो फोहोर निस्क्छिन् । यसमा ७३ प्रतिशत संक्रमित तथा जोखिमयुक्त फोहोर पर्छ । अहिले अस्पतालजन्य फोहोरको मात्रा बढेको छ । पछिल्लो समयमा त्यसबारेमा अनुसन्धान भने भएको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले छिट्टै अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले हिरमिनियामा बनाएको ल्यान्डफिल साइटमा अस्पतालजन्य फोहोर पनि व्यवस्थापन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले वातावरण इन्जिनियर प्रकाश डिसीको संयोजकत्वमा एउटा समिति बनाएर अस्पतालजन्य फोहोर व्यवस्थापन गर्दा लाग्ने शुल्क निर्धारण गर्न थालेको छ । समितिमा अस्पताल, क्लिनिकका प्रतिनिधिलाई राखिएको छ । ‘हामीले १० दिनभित्र नै अस्पतालजन्य फोहोर व्यवस्थापन गर्दा लाग्ने शुल्कबारे अध्ययन गरेर प्रतिवेदन बनाउँछौं’, इन्जिनियर डिसीले भन्नुभयो– ‘त्यसपछि उपमहानगरपालिकाले टेन्डर निकालेर अस्पतालजन्य फोहोर व्यवस्थापन हुन्छ ।’

नेपालगञ्ज उपमहानगरपालिकाले बजारबाट निस्किने फोहोर हिरमिनियामा बनाएको ल्यान्डफिल साइटमा व्यवस्थापन गर्ने गरेको छ । हिरमिनियामा अत्याधुनिक ल्यान्डफिल साइट बनेपछि नेपालगञ्ज उपमहानगरपालिकालाई फोहोर कहाँ फाल्ने तनाव हटेको छ । यो समस्या अस्पताललाई भने ज्यूँका त्यूँ रहेको छ । फोहोर व्यवस्थापन गर्ने नाममा सामुदायिक वनमा लगेर अस्पतालजन्य फोहोर फाल्नु मानिस र वन्यजन्तुका लागि हानिकारक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्