राजनीतिक नेतृत्वको भोक



मुलुकको पुरानो राजनीतिक दल नेपाली कांग्रेस नेतृत्वमा रहेका व्यक्तिको लोभ–लालचका कारण दिन–प्रतिदिन कमजोर बन्दैछ । आज प्रधानमन्त्री पनि रहेका शेरबहादुर देउवाकै कारण पछिल्लो राष्ट्रिय निर्वाचनमा आफ्नो पार्टीलाई ऐतिहासिक पराजय पुगेको अरूले त बिर्से–बिर्से, आफूलाई युवा पुस्ता बताउने प्रकाशमान सिंह र विमलेन्द्र निधिले कसरी बिर्से, आश्चर्य लाग्छ । युवाहरूमा फुट भएकै कारण ७५ वर्षे वृद्धले पार्टी सभापति बन्नुपरेको छ । यसपटक यही तथ्य सावित भएको छ ।

कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व कसले हत्याउने भन्ने विषयले किनारा पाउने लगभग पक्कापक्की भएको छ । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा प्रवेश गरेको निर्वाचन रोचक मोडमा पुगेको छ । संस्थापनइतर पक्षबाट उठेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेपछि देउवाको जित सुनिश्चित देखिएको छ । लामो रस्साकस्सीपछि पार्टीको बागडोर देउवाले नै सम्हाल्ने निश्चित भएको छ । पार्टीको नीतिभन्दा पनि नेतृत्वमा को पुग्ने भन्ने अस्वस्थ प्रतिस्पर्धा यसपटक पनि कांग्रेसको महाधिवेशनमा देखिएको छ । कार्यकर्ताहरू विभाजित भएपनि नेताहरू भने आफ्नो स्वार्थ पूरा भएपछि कार्यकर्ताको भावनालाई वेवास्ता गर्दै अगाडि बढ्नु पक्कै पनि राम्रो होइन । पार्टी नेता होइन नीति प्रधान हुनुपर्ने थियो ।

तर ठूला भनिएका दलहरूमा नेता हावी हुँदा नीति र सिद्धान्तले काम गर्न छाडेको देखिन्छ । जबजब दलमा नेता हावी हुन्छन् त्यहाँ नीति र सिद्धान्तले काम गर्दैन र पार्टीले अघि सारेका राष्ट्रिय महत्वका काम ओझेलमा पर्ने प्रवल सम्भावना देखिन्छ । मुलुकले परिर्वतन खोजेको भए पनि दलहरूमा पुरानो नेतृत्वले नै निरन्तरता पाउनुलाई सुखद मान्न सकिदैन । युवापुस्ताले राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा बुढा नेताहरू नै पुनः नेतृत्वमा पुग्न सफल भएका छन् । यसले मुलुकको विकासमा लामो समयसम्म धक्का लाग्ने निश्चितप्रायः नै छ । पटक–पटक प्रधानमन्त्री बनेका देउवाबाट मुलुकले आश गर्ने ठाउँ छैन । त्यति हुँदाहुँदै पनि पुनः ४ वर्षे कार्यकालका लागि नेपाली कांग्रेसको नेतृत्व देउवाको पोल्टामा गएको छ । हिजोभन्दा आज लोकप्रियता गुमाउँदै गएका देउवाले पार्टीमा आफ्नो पकड कायम राख्ने हो भने संस्थापनइतर समूहलाई मिलाएर लैजानुपर्ने देखिन्छ । सबै समूहलाई मिलाएर लैजान नसके देउवाका लागि अर्को चुनौती नजिकै खडा भएको छ । आउँदो तीन तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पुर्याउनुपर्ने देउवामाथि दबाब छ । पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई मिलाउन नसके आउँदो निर्वाचनमा समेत असर गर्ने देखिन्छ । आफ्ना प्रतिद्वन्द्वी सिंह र निधिलाई अहिले फकाए पनि प्रमुख प्रतिद्वन्द्वी शेखर कोइरालालाई समेत मिलाएर लैजान सकेमात्रै पार्टीले आउँदो निर्वाचनमा सफलता पाउन सक्ला नत्र भने यसै भन्न सकिने अवस्था देखिदैन ।

पार्टीको नीतिलाई आत्मसात् गर्दै अघि बढेर विगतमा गुमेको शाख जोगाउने चुनौती देउवामाथि छ । विगतमा पार्टीइतर पक्षलाई पेलेरै जाने नीति अख्तियार गरेका देउवाले अब भने आफ्नो मनोविज्ञान परिर्वतन गर्न नसके पार्टीको भविष्य अन्धकारमय हुने निश्चित देखिन्छ । त्यसैले पार्टीलाई एक बनाएर लैजाने हो भने देउवाले सबै समूहलाई समेट्न सक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्