वर्ल्डलिंकको खल्तीमा लगानी



काठमाडौं, (नेस) ।

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानीपश्चात खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहनेछ ।

वर्ल्डलिंक र खल्तीको यो साझेदारीले शहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पुर्याउनको लागि सहयोग पुग्ने विश्वास कम्पनीको छ । २५ वर्षअघि स्थापना भएको वल्र्डलिंकले ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम क्षेत्रलाई पनि इन्टरनेट कनेक्टिभिटीमा जोडिरहेको छ ।

‘वल्र्डलिंकले नेपालको शहरी क्षेत्रसहित ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेटको सेवा विस्तार गरिरहेको छ,’ वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले भन्नुभयो–‘यो सहकार्य नेपालको सूचना प्रविधि सुदृढीकरणको लागि कोसेढुंगा साबित हुनेछ ।’

खल्तीसँगको सहकार्यले नेपालका दूरदराजका क्षेत्रमा इन्टरनेट कनेक्टिभिटीसँगै वित्तीय पहुँच पुर्याउन र डिजिटल नेपालको लक्ष्य हासिलको लागि यसले मद्दत पुर्याउने अध्यक्ष अग्रवालको विश्वास छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक र स्वदेशी रेमिटेन्स सेवा सञ्चालनको लागि अनुमति प्राप्त खल्ती डिजिटल वालेट सन् २०१७ देखि सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्