जलजलामा दैलोमै कृषि बजार



पर्वत, (नेस) ।

जिल्लाको जलजलाका किसानले आफैं कृषि बजार सञ्चालन गरेपछि जीवनयापन सहज भएको छ । मौसमी तथा बेमौसमी तरकारी फलाउने किसानले उत्पादन बजारीकरण गर्न कृषि बजार सञ्चालन गरेपछि दैनिकी सहज भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन, तरकारी पकेट क्षेत्र तथा विभिन्न बालीका ब्लक कार्यक्रम सञ्चालन भएको जलजला पर्वत जिल्लाकै सबैभन्दा बढि व्यावसायिक किसान रहेको पालिका हो । यहाँको धाईरिङ, नाग्लीवाङ, शालिजा, लेखफाँट, मल्लाज जस्ता गाउँमा बाह्रै महिना तरकारी खेती हुने गरेको छ । तर, अनेक सकस झेलेर तरकारी र फलफूल उत्पादन गर्ने किसानले त्यसअनुसारको प्रतिफल पाउन सकेका थिएनन् । आफूले उत्पादन गरेको वस्तुबाट बिचौलिया लाभान्वित भइरहेको महशुस गरेपछि किसानले अँफैं बजार सञ्चालन गरेको कृषि बजार सञ्चालक समितिका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

अध्यक्ष राजु आचार्यका अनुसार केन्द्रमा संकलित तरकारी बजारसम्म पुर्याउने काम पनि समूहले नै गर्दै आएको छ । गत वर्षअघि शुरु गरेको ‘जलजला कृषि बजार’ मा अहिलेसम्म ४०० किसान जोडिइ सकेका छन् । एक जना किसानले १० हजार रुपिया“ले लगानी गरेर शुरु गरेको कृषि बजारमा १० जना कर्मचारी कार्यरत छन् भने कृषि उपजको संकलन र बिक्रीका लागि २ वटा गाडी खरीद गरिएको छ ।

हरेक दिन कृषि उपज संकलन गर्न गाडी किसानको बारीसम्मै पुग्छ । वडा–७ को मिलनचोकमा कृषि उपजको संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । करिब १० रोपनी जग्गा भाडामा लिएर कृषि बजारका लागि तरकारी, फलफूल, अन्न, कुखुरा, खसीबोकालगायत संकलन तथा भण्डारणको व्यवस्था गरिएको छ । केन्द्रमै थोक तथा खुद्रा बिक्रीका लागि मासु तथा तरकारी पसलसमेत सञ्चालनमा छन् । ‘कोरोनाका कारण गत वर्ष ४० लाखको काउली बारीमै कुहियो,’ सल्यान गाउ“का अगुवा कृषक एकनारायण पौडेलले भन्नुभयो–‘त्यतिबेलै देखि कृषि बजार सञ्चालन गर्ने सोच बनाएका हौं ।’

प्रतिक्रिया दिनुहोस्