भर्नै हुन आएनन् मेरिट सूचीका विद्यार्थी



मोतीराम तिमल्सिना, काभ्रे

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसअन्तर्गतका कलेजहरुमा आह्वान गरिएका सिटमा विद्यार्थी भर्ना हुनै आएका छैनन् । उच्च शिक्षा आयोगले विश्वविद्यालयको अधिकार कटौती गर्दै भर्नाका कार्यक्रम ढिलाइ गरेसँग विद्यार्थी अन्य मुलुकतर्फ आकर्षित हुन थालेकाले भर्ना हुने कम भएका हुन् ।

भर्ना आह्वान गरिएका १ हजार ७ सय ९० सिटमध्ये १ हजार २ सय ८ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । कुनै–कुनै तहमा त ६ जना विद्यार्थी मात्रै एउटा क्याम्पसमा भर्ना भएका छन् । काठमाडौं विश्वविद्यालयअन्र्तगत ९ वटा क्याम्पसमा एमबीबीएस तहमा खुलेको भर्नामा ८ सय ८८ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । चिकित्सा शिक्षा आयोगले ९ वटा क्याम्पसका लागि ९ सय सिटमा भर्ना गर्न सक्ने कोटा तोकी विद्यार्थीको नामावली प्रकाशन गरेको भए पनि १२ जना विद्यार्थी एमबीबीएस तहमा भर्ना हुनै आएनन् । ‘नेपालमा उच्च शिक्षाको बास्केटमा विश्वविद्यालयले उत्पादन गरेको संख्या थोरै भए पनि गुणस्तरीतामा अतुलनीय छ ।’ –विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा भन्नुभयो ।’

कुम्समा १ जना, बीएमसीमा ४ जना, एनओएमसीमा २ जना, केएमसीमा १ जना, एनजीएमसीमा २ जना र एमसीओएमसमा २ जना विद्यार्थी भर्ना हुन आएका आएका छैनन् । श्वविद्यालय मातहतका कलेजमा भर्ना हुन नआएका सिटहरु खाली नै रहे पनि अन्य विद्यार्थीलाई भर्ना गर्ने अवसर चिकित्सा शिक्षा आयोगले उपलब्ध गराएको छैन । केही कलेजमा विदेशी विद्यार्थीको सिट शून्य भएको छ । समयमै चिकित्सा शिक्षा आयोगले विद्यार्थीको परीक्षा लिएर अध्ययन गर्ने अवसर उपलब्ध गराएको भए उक्त सिटहरु खाली हुने सम्भावना हुँदैन थियो ।

मुलुकका लागि आवश्यक पर्ने शैक्षिक जनशक्ति काठमाडौं विश्वविद्यालयले उत्पादन गरेको बताउँदै उपकुलपति डा. थापा भन्नुहुन्छ– ‘पछिल्लो समय विश्वविद्यालयको अधिकार कटौती हुँदै विद्यार्थी भर्नासमेत हुन नसकेको दृष्टान्तलाई मध्यनजर गर्दै सरोकारवाला पक्षले ध्यान दिनुपर्छ ।’ ‘राजधानीमा पाउने वस्तुको मूल्य र अन्यत्र फरक हुन सक्छ’, उपकुलपति डा. भोला थापा भन्नुहुन्छ– ‘सबै क्षेत्रमा प्राप्त हुने सेवा र वस्तुलाई एउटै डालोमा राखेर गरिने निर्णयले शैक्षिक क्षेत्र धराशयी हुनेछ ।’
अघिल्लो वर्ष विश्वविद्यालयले प्राप्त गरेको सिटमा विभिन्न विद्यामा ४० जना विद्यार्थी भर्ना भएका छैनन् भने यो वर्ष झण्डै विश्वविद्यालय र विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा गरी ५ सय ८२ सिट अझै खाली रहेको उहाँको भनाइ छ ।

विश्वविद्यालय अन्तर्गत हालसम्म भर्ना हुन बाँकी एमबीबीएस कार्यक्रममा १२ जना, बीडीएसमा ८८ जना, बीएससी नर्सिङमा ३ सय ९ जना, बीएनएस एन्ड बी मिडमा २८ जना, ल्याब मेडिसिनमा १८ जना, ल्याब मिटमा १९ जना, बीपीटीमा १ सय ८ जना गरी ५ सय ८२ जना विद्यार्थी भर्ना हुन आएका छैनन् । उनीहरुमध्ये अधिकांश अन्य मुलुकमा नाम निकालेर अध्ययनका लागि गइसकेका छन् ।

विश्वविद्यालयअन्तर्गत सबैभन्दा धेरै बीएससी नर्सिङ कार्यक्रममा विद्यार्थी भर्ना हुन आएका छैनन् । अधिकांश कलेजमा १० जना विद्यार्थी कटेका छैनन् । ४० सिट क्षमता भएका कलेजहरुमा २ जना विद्यार्थी भर्ना भएसँगै कलेज बन्द हुने अवस्थामा पुगेका छन् । बीएससी नर्सिङका लागि शिर मेमोरियलमा ४ जना, केयू एसएमएसमा ५ जना, बीएमसीमा २ जना, एलएमसीमा ६ जना, एनओएमसीमा ४ जना, एनएमसीमा ५ जना, केएमसीमा ६ जना, एनजीएमसीमा २ जना, सीओएमएसमा ८ जना र एमसीओएमसमा ९ जना विद्यार्थी भर्ना भएका छन् । तीमध्ये भर्ना भएका अधिकांश विद्यार्थी छात्रवृत्तिअन्तर्गतका मात्रै हुन् । बीएससी नर्सिङमा ४४ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने छन् । हालसम्म ५१ जना विद्यार्थी भर्ना भएका छन् ।

ल्याब मेडमा २० जना विद्यार्थीमा २ जना मात्रै भर्ना भएका छन् । उनीहरु दुवै जना छात्रवृत्तिका हुन् । बीएसीअन्तर्गतकै एमआईटी कार्यक्रममा २० वटा सिटमा १ जना भर्ना भएका छन् । उनी पनि छात्रवृत्तिकै हुन् । बीपीटी कार्यक्रममा १ सय ३० वटा सिटमा २२ जनाले मात्रै भर्ना गरेका छन् । कलेज सञ्चालकहरु विद्यार्थी नै भर्ना नभएपछि कलेज बन्द गर्ने कि सञ्चालन गर्ने भन्ने दोधारमा छन् ।

काठमाडौं विश्वविद्यालय र त्यसअन्र्तगतका कलेजहरुमा अहिले पनि विद्यार्थीले अध्ययन गर्न पाएका छैनन् । चिकित्सा शिक्षा आयोगले परीक्षा लिन थालेपछि कलेजमा तोकिएका सिटमा विद्यार्थी भर्ना हुने र अध्ययन गर्ने क्रम घट्न थालेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्