सर्लाही क्षेत्र नम्बर चारमा संस्थापन पक्ष विजयी



सर्लाही ।

क्षेत्र नम्बरमा ४ मा संस्थापन पक्षका क्षेत्रीय सभापतिमा रामआश्रय साह निर्वाचित हुनुभएको छ । बुधबार बिहान सम्पन्न मतगणनामा सभापतिका अर्का उम्मेदवार हरेन्द्र सहनीलाई पराजित गर्दै साह क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो । संस्थापन पक्ष ४ नम्बर क्षेत्रमा प्यानल नै भएको छ ।

संस्थापन पक्षका साहले ५ सय १७ मतका ल्याउँदा संस्थापनइतर पक्षका सहनीले २ सय २७ मत मात्रै ल्याएका थिए । त्यसै गरी, क्षेत्रीय कार्यसमितिमा र महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षीय विजयी भएका छन् । प्यानल बनाएर निर्वाचनमा उठेका सर्लाही क्षेत्र नम्बर ४ का संघीय सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

अधिवेशनमा संघीय सांसद सिंह र संस्थापन पक्षका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहबीच कडा प्रतिस्पर्धा भएको थियो । महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएका संघीय सांसद सिंहले २ सय ४८ मत प्राप्त गर्नुभएको थियो भने प्रदेश सांसद सिंह ५ सय १४ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । सर्लाहीमा नेपाली कांग्रेसको जारी क्षेत्रीय अधिवेशनमा अहिलेसम्म क्षेत्र नम्बर ४ को मात्र नतिजा सार्वजनिक भएको छ ।

त्यस्तै, चार निर्वाचन क्षेत्र रहेको सर्लाहीमा क्षेत्र नम्बर १ मा यो समाचार तयार गर्दासम्म मतगणना जारी छ । क्षेत्र नम्बर २ र ३ मा निर्वाचन प्रक्रिया मात्र शुरु भएको छ । क्षेत्र नम्बर १ को बयलवासमा मतगणना चलिरहेको छ । त्यहाँ संस्थापनबाट कुवेर आचार्य र इतर पक्षबाट हरि लुंगेलीले सभापतिका उम्मेदवारी दिएका छन् । यस्तै, क्षेत्र नम्बर ३ को बरहथवामा अधिवेशन प्रक्रिया चलिरहेको छ । संस्थापन पक्षका पुन्यप्रसाद घिमिरे र इतर पक्षका भिखारी रायले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्