बैठकमै गाउँपालिका अध्यक्ष–उपाध्यक्षबीच कुटाकुट

अध्यक्षको दाँत भाँचियो



विद्यानन्द राम, राजविराज ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच मंगलबार कुटाकुट भएको छ । कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ ।

दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बीउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । सोही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्वर ३ का अध्यक्ष दीपेन्द्रप्रसाद यादवले जानकारी दिनुभएको छ । ‘म पनि बैठकमा सहभागी थिएँ, समान्य छलफल नै भइरहेको थियो । सोही क्रममा एक्कासि अध्यक्ष र उपाध्यक्षबीच मिनटमै मुकामुकी नै हुन थाल्यो’, उहाँले भन्नुभयो– ‘अध्यक्षको त दुईवटा दाँत नै भाँचिएको छ ।’

‘अध्यक्षले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरें र सोही क्रममा कुर्सी पनि उठाएँ’, उपाध्यक्ष मण्डल भन्नुहुन्छ– ‘तर, मलाई थाहा छैन उहाँको दाँत भाँचिएको भन्ने ।’

सो घटनाबारे पालिका अध्यक्षसँग बुझ्न खोज्दा फोन उठेन । यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्ष घम्साघम्सी भएको बताउनुभयो । ‘घटनापछि उहाँहरु आ–आफ्नो घरतिर लाग्नुभयो भन्ने कुरा जानकारीमा आएको छ । यद्यपि, उहाँहरुबाट प्रहरीमा उजुरी परेको छैन ।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्