‘लगानीको समस्या छैन’



मलाल भुसाल, बुटवल । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीसम्बन्धी नीति राम्रो बनाउन सके लगानीको खोलो बग्ने बताउनुभएको छ । विकसित मुलुकले लगानीलाई महत्व दिएकै कारण अर्थतन्त्रमा अगाडि बढेको उल्लेख गर्दै लगानीसम्बन्धी नीति सुधार गर्न सरोकारवालासँग ढकालले आग्रह गर्नुभयो ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६८औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उहाँले बुटवलको बमघाट–बसन्तपुर केवलकार निर्माण सम्पन्न भएपछि बुटवलसँंगै यस क्षत्रको पर्यटन उद्योग फस्टाउने विश्वास व्यक्त गर्नुभयो । अहिले बैंक तथा वित्तीय संस्थामा उत्पन्न भएको तरलता अभावले समस्या उत्पन्न भएको उहाँको भनाइ छ । निजी क्षेत्र लक्षित नीति बनाउंँदा निजी क्षेत्रको सुझाव सल्लाह लिएर गर्ने हो भने त्यसमा निजी क्षेत्रको पनि अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने उहाँको भनाइ छ ।

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्थापनाको समयदेखि हालसम्म यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले खेलेको भूमिकाको चर्चा गर्नुभयो । कोरोना महामारीले मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको बताउंदै उहाँले संघ प्रदेश र स्थानीय सरकारलाई व्यवसायमैत्री भईदिन आग्रह गर्नुभयो । प्रदेश संरचना स्थापना र प्रदेशको स्थायी राजधानीको लागि संघले आफ्नो भवन सरकारलाई उपलब्ध गराएको स्मरण गर्दै स्थायी राजधानी कायम हुन नसकेपनि बुटवल प्रदेशको आर्थिक केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले बुटवलमा व्यवसायीमैत्री, लगानीमैत्री र रोजगारमैत्री वातावरण बनाएको दाबी गर्दै निजी क्षेत्रसँगको सहकार्यबिना विकास सम्भव नभएको बताउनुभयो । निजी क्षेत्रलाई बुटवलले अगाडि लगाएर विकासका पाइला चालेको उहाँको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले सिमानाका कडाई गर्न महासंघ र व्यक्तिगत रुपमा आफू पनि लागि परेको बताउँदै बोर्डरलाई ईकोनोमिकल्ली शिल गर्न लागि परेको जानकारी गराउनुभयो ।

त्यसले व्यवसायीलाई पनि राहत पु-याउने र मुलुकको राजस्वमा पनि सकारात्मक योगदान पुग्ने बताउनुभयो ।त्यस्तै महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा भएका समस्या समाधानमा गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वागमति प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति भरत आचार्यलगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्