तीन महिनापछि तल्लो मोदी–१ बाट उत्पादन सुचारु



पर्वत ।

स्थानीय चुवास्थित १० मेगावट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाले नियमित विद्युत् उत्पादन शुरू गरेको छ । गत भदौ १७ गते रातिको वर्षापछि आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति भएपछि बन्द भएको आयोजनाले तीन महिनापछि उत्पादन सुरू गरेको हो ।

जलविद्युत् आयोजनाको क्षतिग्रस्त संरचनाहरु मर्मत गरिएसँगै उत्पादन सुचारु भएको जलविद्युत् आयोजनाले जानकारी दिएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित उक्त आयोजनाको विद्युत् गृह, इन्टेक, नहर र टावरमा बाढीले क्षति पु¥याएको थियो । प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तर प्रयासपछि उत्पादन सुचारु गरिएको युनाइटेड मोदी हाइड्रोपावरका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।

आयोजनाभन्दा माथिबाट आएको पहिरोले क्षति पु¥याएपछि तत्काल मर्मत गर्न नसकिएको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, वाल, स्ल्याबलगायत संरचनामा क्षति पुगेको थियो । विद्युत् उत्पादन गृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो ।
बाढी र पहिरोका कारण आयोजनाको विद्युतगृहदेखि मोदी सबस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिरोले ढालेको थियो ।

टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत् गृहमा पठाउने पानीको नहरको ५ सय मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो । यसबाहेक कम्पनीले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको थियो । निर्देशक गौतमका अनुसार बाढीपहिरोका कारण आयोजनाको नोक्सानमात्रै ५ करोडभन्दा बढी भएको छ । अहिलेसम्म विद्युत् उत्पादन नहुँदा थप २ करोड आम्दानी घटेको उहाँले बताउनुभयो । आयोजना मर्मत पूर्ण रुपमा अझै नसकिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्