उपल्लो मुस्ताङमा हिमपातले जनजीवन प्रभावित 



दुर्गाप्रसाद शर्मा , पर्वत  । 

हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघि देखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकामा आंशिक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएका कारण चिसोले जनजीवन प्रभावित भएको हो ।

मुस्ताङमा हिउँदे सिजनको पहिलो हिमपात भएको छ । हिमपात सँगै मुस्ताङमा चिसो बढ्ने गर्दछ । उपल्लो मुस्ताङमा आंशिक हिमपात भयसँगै उच्चलेंकका डाँडाकाँडा सेताम्मे भएका छन् ।तर बाक्लो हिमपात नभएकाले बस्ती क्षेत्रमा भने खासै हिउँ जम्न नसकेको लोमान्थाङका स्थानीय आङ्ग्ल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङमा तापक्रम घटेर माइनस १५ डिग्री पुगेको छ । चिसो अप्रत्याशित बढेकाले शाखा नदी,घरका धारा ,सेप्टी ट्याङ्की र सिचाई कुलो समेत जमेको छ ।उपल्लो मुस्ताङमा हिमपात भयसँगै खर्कमा पालन गरिएका या कचौरी,भेडा च्याङ्ग्रा समेत बस्ती नजिक झारिएको छ ।चिसो बढेसङै स्थानीयको दैनिकी समेत प्रभावित बनेको छ ।

 उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पर्ने  लोमान्थाङ, टिङ्गर, सम्जुङ,चुमजुङ, पुवा, छोसेर र कोरला नाका आसपासका क्षेत्रमा हिमपात भएको छ  । लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ, मराङ, घमी, ढाक्मर, घिलिङ, यारा, घारा, ढिँ र सुर्खाङ लगायतका क्षेत्रमा आंशिक हिमपात भएको लोघेकर दामोदर कुण्ड—३ का वडाध्यक्ष तम्सेन धावा गुरुङले जानकारी दिनुभयो । उपल्लो मुस्ताङमा हिउँद याम लागेपछि स्थानीय जाडो छल्न बेसी झर्ने परम्परा छ । गत वर्ष कोरोना कहरले गाउँमै थुनिएका स्थानीयहरू यस पटक भने जाडो छल्न र घुम्ती व्यापारका लागि बेसी झरेका छन् ।

उपल्लो मुस्ताङ र कोरला नाका सम्म जाने आन्तरिक पर्यटकको उपस्थिति समेत नगण्य हुन थालेको पर्यटन होटेल हिमालयन लोमान्थाङका पर्यटन व्यवसायी गोम्बो गुरुङले जानकारी दिनुभयो । लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गापाका ८० प्रतिशत स्थानीय चिसोकै कारण बेसी झरिसकेका छन् ।  चिसो र हिमपातको मौसम भएकाले सबै विकासे योजनाको काम ठप्प भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेरक दामोदर कुण्ड गापा अन्तर्गतका अधिकांश —सामुदायिक,गुम्बा,निजी विद्यालय जाडो छल्न मंसिर कार्तिकको पहिलो साता बेसी झरिसकेका छन् । उनीहरुलाई पोखराका विभिन्न स्थानमा स्थानान्तरण गरी पठन-पाठन गरिएको छ ।

उपल्लो मुस्ताङमा खेतीपातीको कामकाज सकेर स्थानीय बेसी झर्छन् । उनीहरु हिउँद सकिएर गर्मी सुरु भएपछि खाद्यान्न र लत्ताकपडा लिएर उकालो उक्लिन्छन् ।घुम्तीका विद्यालय वैशाख लागेपछि साबिककै स्थानमा लगेर पठन-पाठन गर्ने गरिन्छ । यस्तै उपल्लो मुस्ताङमा चिसो बढेसङै त्यहाँको दुई स्थानीय तहका कर्मचारी समेत जोमसोम झर्ने तयारी गरेका छन् । स्थानीय स्तरमा नागरिक नभएको र सेवा प्रवाहमा समेत कठिनाइ हुने हुँदा स्थानीय तहको सम्पर्क कार्यालय जोमसोममा राखिएको छ । उनीहरूले पालिकाले दिने अतिआवश्यकीय सेवा सम्पर्क कार्यालयबाटै दिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्