निक्षेपको तुलनामा कर्जाको वृद्धि बढी



काठमाडौं, । 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १ दशमलव २ प्रतिशतले वृद्धि भई ४७१८ अर्ब ८३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन ४ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो ।

वार्षिक विन्दुगत आधारमा असोजमा निक्षेप परिचालन १७ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८-७९ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७ दशमलव ७ प्रतिशतले वृद्धि भई ४३९९ अर्ब ८४ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक विन्दुगत आधारमा असोजमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३१ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।

समग्रमा कर्जाको वृद्धिदर निक्षेप वृद्धिको तुलनामा उच्च रहेको छ ।बैंक तथा वित्तीय संस्था लघुवित्त वित्तीय संस्थासमेत को चुक्ता पुँजी गत असार मसान्तमा ३९० अर्ब ४३ करोड रहेको रुपियाँमा असोजमा ३९१ अर्ब १४ करोड पुगेको छ । असोज मसान्तमा वाणिज्य बैंकहरुको पुँजी कोष पर्याप्तता अनुपात १३ दशमलव ४ प्रतिशत, विकास बैंकहरुको १३ दशमलव ६ प्रतिशत र वित्त कम्पनीहरुको १८ दशमलव ८ प्रतिशत रहेको छ । असार मसान्तमा यी अनुपातहरु क्रमशः १४ दशमलव १ प्रतिशत, १३ दशमलव २ प्रतिशत र २२ प्रतिशत रहेका थिए ।

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या असार मसान्तमा १० हजार ६८३ रहेकोमा असोज मसान्तमा ११ हजार ०३९ पुगेको छ । उक्त अवधिमा प्रतिबैंक शाखा जनसंख्या २ हजार ८४४ बाट घटेर २ हजार ७५२ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्