लयमा फर्किदै मुस्ताङको पर्यटन



दुर्गाप्रसाद शर्मा, पर्वत । 

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । कोरोना कहरपछि बन्द रहेको मुक्तिनाथ मन्दिर खुल्ला गरिएसँगै भारतीय दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । मुक्तिनाथ मन्दिर ६ महिनापछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
मुस्ताङमा निषेधाज्ञा खुकुलो पारिएसँगै आन्तरिक पर्यटक र भारतीय पर्यटकको संख्या वृद्धि भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयअन्तर्गत पुथाङ एक्याप पर्यटक चेक पोस्टले जनाएको छ । एक्याप पर्यटक चेक पोस्टका अनुसार असोज ४ गतेदेखि कार्तिक ३० गतेसम्ममा १ हजार ६ सय ४५ जना भारतीय पर्यटक र ३ सय ३८ जना तेस्रो मुलुकका पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । एक्याप पर्यटक चेक पोस्टले पोखरा हुँदै दिनुहँ एक सयको हाराहारीमा भारतीय तथा तेस्रो मुलुकमा पर्यटकले परमिट पेस गर्ने गरेको जनाएको छ ।

मुक्तिनाथ मन्दिर खुल्ला भएसँगै असोजको पहिलो हप्तादेखि तारा एयरले पोखरा–जोमसोम नियमित हवाई उडान शुरु गरेको छ । हवाई उडान शुरु भएपछि मुस्ताङमा भारतीय पर्यटक आउन थालेको तारा एयरका जोमसोम स्टेसन प्रमुख सुजन लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार केही हप्तादेखि पोखराबाट हवाई उडानको संख्या बढ्न थालेको छ । अहिले दैनिक ९ वटासम्म उडान भइरहेको उहाँले जानकारी दिनुभयो ।मुस्ताङमा १८ वर्षदेखि माथि उमेरका अधिकांश नागरिकले खोप लगाइसकेको र कोरोना संक्रमण न्यूनीकरण हुँदै गइरहेको भन्दै स्थानीय प्रशासनले दुई महिना अघि जारी निषेधाज्ञा खुकुलो पारेको थियो । स्थानीय प्रशासनले मुस्ताङ घुम्ने पर्यटक तथा दर्शनार्थीलाई पीसीआर रिपोर्ट ,एन्टिजेन रिपार्ट वा खोप कार्डका आधारमा जिल्ला प्रवेश गर्ने अनुमति प्रदान गर्ने गरेको छ ।

कोरोना कहर अघि सार्क तथा तेस्रो मुलुकका गरी वर्सेनी ६० हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गर्दै आएका थिए । यस्तै स्वदेशी पर्यटक पनि मुक्तिनाथ दर्शन, कोराला नाका अवलोकन र कागबेनीमा श्राद्ध गर्नका लागि बर्सेनी ३ लाखभन्दा बढी आउने गरेका थिए । कोरोनाले प्रभावित बनेको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किदै छ । दशैं, तिहार र छठ पर्वको सेरोफेरोमा ५० हजारभन्दा बढी स्वदेशी पर्यटक मुस्ताङ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्