यातायातमा अस्वस्थ्य प्रतिस्पर्धा त्याग्न आग्रह



हेटौंडा, (नेस)  ।

पेट्रोलियम पदार्थको मूल्य पटक–पटक बढ्दै गएको छ । अझै मूल्यवृद्धि हुने सम्भावना छ । डिजेलको मूल्य बढ्नासाथ मोटर गाडीको खर्च बढ्न जान्छ र स्वभाविकरुपमा ढुवानी भाडा बढाउनुपर्ने हुन्छ । यातायात क्षेत्रमा रहेको अस्वस्थ्य प्रतिस्पर्धाका कारण सरकारले तोकेको ढुवानी भाडा पनि यातायात व्यवसायीले प्राप्त गर्न सकेका छैनन् ।

सरकारले तोकेको ढुवानी भाडादरअनुसार वीरगन्जदेखि काठमाडौंसम्म प्रति १० टन सामानको ढुवानी भाडा २५ हजार ३ सय ४ रुपियाँ छ । उक्त भाडा डिजेलको मूल्य प्रतिलिटर १ सय ११ रुपियाँ हुँदाको हो । अहिले १ सय १९ रुपियाँ भइसकेको छ ।‘सरकारले तोकेको भाडा पनि वर्तमान अवस्थामा अपुग भइसकेको छ । तर, यातायात क्षेत्रको अस्वस्थ्य प्रतिस्पर्धाका कारण सरकारले तोकेको भाडा पनि व्यवसायीले प्राप्त गर्न सकेका छैनन्,’ नारायणी यातायात कम्पनी प्रालि हेटौंडाद्वारा जारी गरिएको अपिलमा भनिएको छ ।

सरकारले तोकेको ढुवानीभाडा लिएर आफ्नो पेशा सञ्चालन गर्न कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले अपिल गर्नुभएको छ ।

‘आफ्नो सवारीको ढुवानी क्षमता (ब्लुबुक क्षमता) भन्दा बढी सामान लोड नगर्नुहोस्,’ अपिलमा भनिएको छ–‘ओभरलोड ढुवानीका कारण सवारी दुर्घटना बढेर गएको छ । जसका कारण जनधन क्षति भएको छ, हाइवे सडक तथा पुलहरु जीर्ण बनेका छन्, राज्यको ठूलो लगानी रहेको सडकको सुरक्षाका निम्ति पनि ओभरलोड हानिकारक छ र ओभरलोड बोकेको पाइए दण्डित हुनुपर्ने तथा जरिवाना तिर्नुपर्ने हुँदा असल व्यवसायी÷असल नागरिकको कर्तव्यपालना गर्नुहुन यातायात व्यवसायीमा अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्