साढे ३ करोडको धानबाली क्षति



नेपाल समाचारपत्र, पाल्पा ।

बेमौसमी वर्षाका कारण तयार भएको धानबालीमा क्षतिको विवरण जिल्ला प्रशाासन कार्यालयले सार्वजनिक गरेको छ । पाल्पामा बेमौसमी वर्षाका कारण ३ करोड ४० लाख रुपियाँबराबरको धानबालीमा क्षति पुगेको अनुमान गरिएको हो  ।

जिल्ला विपद् व्यवस्थापन समिति बैठकले क्षतिको तथ्यांक सार्वजनिक गर्दै ६ हजार ८ सय ८२ रोपनी क्षेत्रफलमा लगाइएको बालीमध्ये १३ हजार ९ सय क्न्टिल धानवाली क्षति भएको हो । स्थानीयस्तरमा प्रचलित धानको प्रतिक्विन्टलका दरले हिसाब गर्दा उक्त रकम बराबरको क्षति पुगेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो  ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै तिनाउ गाउँपालिकामा ४ सय १५ जना किसानको २ हजार ४ सय ७७ रोपनी क्षेत्रफलको धान नोक्सान भएको छ । जसको स्थानीय मूल्य १ करोड १८ लाख ९२ हजार रुपैया हो । त्यस्तै सबैभन्दा कम क्षति रामपुर नगरपालिकामा १६ जना किसानको २६ रोपनी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको थियो । विपद् व्यवस्थापन समितिले किसानको क्षतिको विवरण गृह मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयमा पठाएको छ

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ८ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती लगाउँदै आएको छ । बेमौसमी वर्षाका कारण कतिपय काटन बाँकी र काटिसकेको धानमा पनि क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्