ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सिम



काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकका ग्राहकले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाको लाभ लिन पाउने भएका छन । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउने भएका हुन् ।

एनसेल आजियाटा र ग्लोबल आइएमई बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदार, उनीहरुका परिवार र रेमिटेन्स आम्दानी भएका व्यक्तिहरुका लागि विशेष बचत खाता हो । यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजना सहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधा रहेको छ ।

सम्झौता अनुरुप, ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिना सम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्दछन् । यस योजना अन्तर्गतको सिम कार्डमा ग्राहकले २० रुपियाँको मेन ब्यालेन्स, ७ दिनको समयसिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्नेछन् ।

त्यस्तै सिम सुचारु भएको पहिलो २ दिनमा भएको सय रुपियाँ वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले सय मिनेट अन नेट टक टाइम र सय एमबी डेटा प्राप्त गर्दछन् । प्राप्त सेवा, सुविधाहरु ७ दिनको लागि मान्य रहने बैंकले जनाएको छ । यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्जमा बोनसको फाइदा लिन सक्छन् भने भारत, मलेसिया तथा खाडी मुलुकमा कल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्