सानिमा बैंकको अध्यक्षमा पौडेल



काठमाडौं, (नेस) ।

सानिमा बैंकको संचालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त हुनु भएको छ । बैंकको सञ्चालक समितिको बैठकले उहाँलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

बैंकको नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ ग्रहण गर्नु भएको छ । पौडेल यसअघि बैंकको संस्थापक समूहको तर्फबाट ८ वर्षदेखि निरन्तर सञ्चालक रहँदै आउनुभएको छ ।

नर्वेबाट हाइड्रोपावर डेभलपमेन्टमा स्नातकोत्तर गर्नुभएका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोइलेक्ट्रिक इन्जिनियर हुनुहुन्छ । विगत २४ वर्षको पेशागत अनुभव संगाल्नु भएको छ । यसअघि कार्तिक १४ गते बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो । संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुक प्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा। केशवप्रसाद आचार्य निर्वाचित हुनुभएको थियो । बैंकले आर्थिक बर्ष २०७७/७८ मा २ दशमलव ३२ अर्ब खुद मुनाफा गरेको छ । सानिमा बैंकको कुल सम्पत्ति १६० दशमलव ७५ अर्ब, कुल निक्षेप १३० दशमलव ८८ अर्ब तथा खुद कर्जा सापटी १२३ दशमलव १७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७६/७७को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८ दशमलव ८८, ३१ दशमलव ४५ र २७ दशमलव २६ प्रतिशतले वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्