कोरोना बीमाको रकम नपाएपछि मुद्दा



बाँके, (नेस) । 

कोरोना बीमा नपाएको भन्दै विमितले नेपालगन्जमा बीमा कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । दुई वर्षअघि बीमा गरेका व्यक्तिले अहिलेसम्म रकम नपाएपछि विमितहरु अदालतको शरणमा पुगेका हुन् ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा विमितको तर्फबाट सात जनाले २० वटा बीमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । सार्वजनिक सरोकारको विषयमा मुद्दा दायर गर्दै आएका नेपालगञ्जका कानून व्यवसायी र अधिकारकर्मीले विमितको तर्फबाट मुद्दा दायर गरेका छन् । उनीहरु आफै पनि पीडित हुन् ।

बारका उपाध्यक्ष सुनिल श्रेष्ठ, बार नेपालगञ्जका पूर्वअध्यक्षहरु लोकबहादुर शाह, बलबहादुर चन्द र विकास आचार्य, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, अधिवक्ताद्वय बसन्त गौतम र विश्वजित तिवारीले दश जना विमितको तर्फबाट मुद्दा दायर गरेका छन् ।

बिमा कम्पनीले सम्झौता बमोजिम बिमाको रकम दिएका छैनन् । बीमा कम्पनीहरुमा रकम माग गर्दा ‘केही समयपछि भइहाल्छ’ भन्ने झुलाउने काम भइरहेको छ । कतिपय बीमा कम्पनीले सरकारबाट अनुदान आएपछि दिने बताउँदै आएका छन् ।

नेपाल बारका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले विधि प्रक्रिया पु¥याएर बीमाको रकम माग गर्दा झुलाउने काम भएको बताउनुभयो । ‘कतिपयले सरकारले अनुदान दिएपछि दिन्छौं भन्छन् । केहीले अब छिट्टै दिन्छौं भन्छन्, बारका उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, विमितलाई सरकारले अनुदान दिओस् वा नदिओस् । बीमा कम्पनीले सम्झौता अनुसार रकम दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्