संस्कृति र संस्कार : पचली भैरवको जात्रा



  • प्रेममान डंगोल

नेपालका नेवारहरुले जतिसुकै कठिन परिश्रम गर्नुपरे पनि धार्मिक एवं सांस्कृतिक पर्व र जात्रामा सरिक हुँदै आएको पाइन्छ । आफ्नो देशको संस्कृति र संस्कारलाई बचाइराख्नुपर्छ भन्ने उद्देश्यले नेवारहरुले मनाउँदै आएका चाडपर्व र जात्राहरुमध्ये पञ्चलिंगेश्वर, पञ्चमुखी लिंगेश्वर र स्वछन्द भैरवको नामले प्रसिद्ध पचली भैरवको जात्रा मनाउने परम्परा नेपाल संवत् ५०५ मा राजा भएका शिवसिंह मल्लले चलाएका हुन् भन्ने इतिहासमा उल्लेख गरिएको छ ।

भाषा वंशावलीअनुसार राजा गुणकामदेवले कलिगत संवत् ३८२५ मा कान्तिपुर नगर निर्माण गर्दा दक्षिण भेगको क्षेत्रपालको रुपमा पचली भैरवको स्थापना गरेका हुन् । वाग्मती र विष्णुमती नदीको संगम टेकु दोभानसँगै रहेको पचली भैरवका मूर्तिहरुमा मन्दिर भने छैनन् । नेपालका प्रायजसो भैरवका मूर्तिहरुमा मन्दिर छैनन् । खुला आकाशमुनि भैरवका मूर्तिहरु रहेको पाइन्छ । पचली भैरव पनि यसरी नै खुला आकाशमुनि नै रहेको छ । जमिन सतहभन्दा करिब डेढ मिटर तल होचो स्थानमा पचली भैरवको प्राचीन शिलामूर्ति रहेको छ भने सो शिलामूर्तिको अगाडि स्थापना गरिएको सुनको जलप भएको स्वछन्द भैरवको मूर्तिलाई भक्तजनहरुले पूजा गर्ने गर्छन् । पचली भैरवको वरपर गणेश र अष्टमातृका देवीहरुको पनि स्थापना गरिएको छ ।

पश्चिम फर्केको पचली भैरवको ठीक सामुन्ने अलि माथि उठेको जमिनमा पूर्ण कदको उत्तानो परेको मानवाकृत शिलामूर्तिलाई छोपेर तामाको पाताले घेरिएको बेतालको मूर्ति रहेको छ । पचली भैरवको ठीक पछाडि रहेको एउटा ठूलो पीपलको रुखले भैरवको पीठलाई रमणीय र शोभायमान बनाएको छ । भैरवको वरपर साना–ठूला गरी दर्जनौँ पाटीपौवाहरु रहेकाले पनि यस धार्मिक स्थलको महत्वलाई अझ बढाएको छ । भैरवको प्रांगणमा भक्तजनहरुले विभिन्न समयमा चढाएका विभिन्न आकारप्रकारका त्रिशूल, खड्ग र दियोजस्ता सामग्रीहरुले पनि शोभा बढाएको छ । त्यहाँ दुई दर्जनभन्दा बढी शिलालेखहरु पनि देखिन्छन् । ती शिलालेखहरुमध्ये सबैभन्दा पुरानो नेपाल संवत् ८०३ इ.सं. १६८२ मा राखिएको शिलापत्रलाई लिन सकिन्छ । काष्ठमण्डपको भित्तामा पचली भैरवको नाम उल्लेख भएको ताम्रपत्रलाई नेपालको इतिहासकै सबैभन्दा पुरानो ताम्रपत्र मानिएको छ । सो ताम्रपत्रमा १४ औं शताब्दीमा एउटा राज्य बनाएको साक्षीको रुपमा पचली भैरवलाई उल्लेख गरिएको छ ।

नेपालीको राष्ट्रिय एवं सामाजिक सद्भावको महान् चाड बडादशैंमा पचली भैरवको ठूलो मेला लाग्छ । पचली भैरवको जात्रा रोचक किसिमले गरिन्छ । नवरात्रिको पहिलो दिनबाट शुरु हुने पचली भैरवको जात्रा शुरुआत गर्ने क्रममा पचली भैरव मूर्ति अंकित तामाको घ्याम्पोलाई गुठियारको घरबाट क्वहिटीमा चित्रकारको घरमा लगी नयाँ रंगरोगन गरी सिंगारेर आँखामा दृष्टि खोल्ने काम गरिन्छ । चित्रकारले सिँगारेको सो भैरवको घ्याम्पोलाई तीन दिनसम्म क्वहिटी टोलको ढुंगेधाराअगाडिको पाटीमा पूजाआजा गर्न राखिन्छ । नवरात्रिको चौथो दिन पचली भैरवको मूर्ति घ्याम्पोलाई भीमसेनस्थान क्वाबहालस्थित थकु जुजुको घरमा लगेर राखिन्छ । थकु जुजुलाई १० देखि १३ औं शताब्दीसम्म राज्य गर्ने ठकुरी राजा मल्ल वंशका सन्तान हुन् भनिन्छ ।

थकु जुजुको घरमा राखिएको पचली भैरवलाई विधिपूर्वक पूजा गरेपछि भैरवको पीठमा लगिन्छ । पाँचौं दिन बिहान सवेरै पचली भैरवलाई पञ्चनाली तीर्थ पचलीघाटमा लगेर वर्ष दिनअघिदेखि घ्याम्पोमा रहेको जाँडरक्सी नदीमा बगाइन्छ । सो समयमा काठमाडौंका विशेष गरेर तल्लो टोलका मानिसहरु र दशैंको नवरात्रिमा आउने भक्तजनहरुले सोही तीर्थमा भैरवको जाँडरक्सी प्रसाद मिसिएको नदीमा स्नान गर्छन् । सो प्रसाद भएको पानीमा स्नान गर्नाले वर्षदिनसम्म कुनै पनि किसिमको रोग नलाग्ने र कुनै पनि किसिमको दुःख–कष्ट पनि हुँदैन भन्ने जनविश्वास छ ।

यसरी रित्तिएको सो पचली भैरवको घ्याम्पोलाई दिनभर पीठमा राखिन्छ भने भक्तजनहरुले पूजाआजा र दर्शन गर्ने गर्छन् । सोही दिन ज्यापु जातिका छोराहरुलाई कर्मकाण्ड गर्ने उद्देश्यले ज्यापु समाजमा भित्र पाइने भनी बःला राख्ने भन्दै व्रतबन्धको प्रक्रिया पूरा गर्ने कार्यका लागि तीन वर्षसम्म तीनपटक पचली पीठमा राखेपछि व्रतबन्ध विधिपूर्वक गर्नुपर्ने हुन्छ । सोही दिन पचली भैरवलाई गुठीको तर्फबाट ठूलो पूजा गरिन्छ । राँगोको बलि पनि दिइन्छ । बलि दिएको राँगोको मासुबाटै सासाहुति यज्ञ गरिन्छ । सोही दिन राति मूर्तिको घाँटीमा पुष्पमाला, नागमाला, कम्मरमा बाघ र हात्तीको छालाले बेर्ने चलन छ । यस्तै मूर्तिको कानमा कुण्डमाला र सुनको बोलम्मा लगाएको नृत्य मुद्रामा ६ हातको भैरवमूर्तिसहित तामाको ठूलो घ्याम्पोमा ज्यापु, भक्तजनहरुले पूजाअर्चना गर्ने गर्छन् । त्यसपछि घ्याम्पोमा जाँडरक्सी, अण्डा, माछा आदि भर्ने गर्छन् । भक्तजनहरुको पूजाको लागि पचली भैरवलाई दिनभर त्यहीँ राख्छन् ।

मध्यरातमा पचली भैरवलाई नै अजिमासहित तल्लो टोलहरु इनाखा, गोफल, लगन, जैसीदेवल, चिकंमुगल, मरुटोल हुँदै सांस्कृतिक बाजागाजासहित जात्रा गर्दै हनुमानढोका दरबार पु¥याइन्छ । त्यहाँ सरकारका तर्फबाट एउटा राँगो बलि चढाएर पूजा गर्ने परम्परा छ । यसै समयमा कुमारी घरबाट जीवित देवी श्री कुमारीलाई पनि त्यहाँ पचली भैरवको स्वागत गर्न र दर्शन गराउन उपस्थित गराउने चलन छ ।

कुमारीलाई भैरवको छोराको रुपमा मानिन्छ । त्यसपछि पचली भैरवलाई ब्रह्मटोलस्थिट श्वेतभैरवको तीनपल्ट परिक्रमा गराएपछि यँगाला मञ्जुश्री टोलस्थित पालाको घरमा पु¥याएपछि जात्रा सम्पन्न हुन्छ । यो जात्रा तल्लो टोलका ज्यापुहरुले पनि पालो चलाउँदै आएका छन् । यो जात्राको विशेषता भनेकै एक समूह मानिसले पचली भैरवको घ्याम्पोलाई पालैपालो काँधमा बोकेर बाजाको तालमा नाच्दै जात्रा गरिने हो । यही जात्रामा मात्र बजाइने बाजा थकुहरुले मात्र बजाउने गर्छन् । जात्राको समयमा विभिन्न स्थानमा राखेका हापुद्यः (काठका भैरव मूर्ति) हरुमा राखेका पाइपबाट जाँड, रक्सी झोर पचली भैरवलाई चढाउने गरिन्छ ।

पचली भैरवको बारेमा सुन्न आएको जनश्रुतिअनुसार फर्पिङका राजा साक्षात भैरव र तान्त्रिक भएकाले दिनहुँ कासीमा स्नान गरेर आई दिनभरि फर्पिङमा राजकाजको काम गरिसकेपछि बेलूका आफ्नो प्रेमिका खड्गी (थर) अजिमासँग प्रेमालाप गर्न टेकुमा घरमै आउने गर्दा रहेछन् । अनि बिहान सबेरै कसैले नदेख्ने गरी फर्किने गर्दा रहेछन् । त्यस नई युवतीलाई आफूलाई माया–प्रीति गर्न आउने युवक साक्षात भैरवको रुप र राजा हो भन्ने थाहा रहेनछ । एकदिन घरको ढोकामा फरिया सुकाइराखेकाले बिहान सबेरै राजा फर्किन सकेनन् । बिहान उज्यालो हुनेबित्तिकै उनैको आमाबाबु, दाजुभाइले देखेर पिट्नसम्म पिटी राजालाई ‘जाँडा’को झाङमा फालिदिएछन् । अनि रुँदै कराउँदै युवती त्यही जाँडाको झाङमा राजालाई अँगाल्न पुगिन् । त्यहीँ भएको कपडाले छोपेर दुवैजना अँगालोमा बाँधिए । त्यही समयमा त्यहाँ राजा भैरव र अजिमा दुवै सिद्ध भएका हुन् भन्ने जनविश्वास छ । ती दुवै झाङमा छोपिएर बसेकाले अहिले पनि पचली भैरवको जात्रामा जाँडको पनि प्रयोग गर्ने चलन छ ।

पचली भैरवको जात्रा गर्दा नै अजिमालाई पनि बाजा बजाई भैरवको पछि–पछि लगिन्छ । पचली भैरवको घ्याम्पोको जात्रा गरेर ल्यायो कि पचलीमा कुनै पनि मानिस बस्नुहुँदैन । पचली भैरवको बेताल उठेर आई देवतालाई चढाइराखेका प्रसाद खान थाल्छ र कुनै मानिसलाई देखे खाइदिन्छ भन्ने डरले कोही पनि त्यहाँ बस्दैनन् । जात्रामा मानिसहरु जाँडरक्सीले मातेर कोही पचली परिसरको बाटोमा लडिराखेका छन् कि भनी अजिमा फर्की–फर्की आएर हेर्दै उठाएर लाने गर्छन् भनिन्छ ।

प्राचीनकालमा माटोको घ्याम्पोमा पचली भैरवको मूर्ति माटोले नै बनाइने गरिन्थ्यो । जात्रा गर्दैै लाँदा बाटोमा खसेर बराबर फुट्ने गथ्र्यो । राजा शिवसिंहको पालामा जात्रा गर्दै लाँदा चिकंमुगल टोलमा खसेर माटोको घ्याम्पो फुटेपछि तामाको घ्याम्पो बनाएर जात्रा गर्ने परम्परा चलाएको हो भन्ने कुरा वंशावलीमा उल्लेख गरिएको छ । प्राचीनकालदेखि राजा फेरिएमा पचली भैरवको घ्याम्पो पनि फेर्ने र नयाँ घ्याम्पो राख्ने चलन छ । पुरानो घ्याम्पोको सट्टा नयाँ घ्याम्पो राखेर जात्रा गर्ने चलनअनुसार भाष्कर मल्लको पालामा राजमाता भुवनलक्ष्मीले घ्याम्पो पुरानो भएर जीर्ण भएकाले नयाँ घ्याम्पो राखेको इतिहासमा उल्लेख गरिएको छ । त्यस्तै राजा फेरिँदा पचली भैरवको घ्याम्पो फेरिने चलन पनि चल्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस्