वर्षाले धानबाली सोत्तर पारेपछि अनिकालको चिन्ता



अजिरकोट, (गोरखा) ।

पाक्नै लागेको धानबाली थन्काउने बेलामा एक हप्ताभन्दा लामो समय वर्षा भएपछि गोरखाका कृषकहरू मारमा परेका छन् । खासगरी गोरखाको सुदूरउत्तरी भेगका कृषकहरूले लगाएको धानबाली वर्षाले ढालिदिएपछि कृषकहरू प्रत्यक्ष मारमा परेका छन् ।

गोरखाको अजिरकोट गाउँपालिकासहित सिरानचोक तथा छिमेकी जिल्ला लमजुंगको बिचौर आसपासमा लगाइएका धानबाली वर्षाले सोत्तर बनाइदिएको छ । पाक्नै लागेको धानबाली वर्षाले ढालिदिएपछि यसपाली धान प्रर्याप्त मात्रामा धान उत्पादन गर्ने आफ्नो चाहना चक्नाचुर भएको अजिरकोट गाउँपालिका वडा नम्बर ३ डिहीटारका कृषक दुर्गा खनालले बताउनुभयो ।

उहाँले आफूले चार रोपनीमा लगाएको मसिनो जातको धानबाली वर्षाले ढालिदिएर सोत्तर बनाइदिएको गुनासो गर्नुभयो । भित्र्याउने तयारीमा रहेको धान बाली वर्षासँगै आएको हावाहुरीले ढालिदिएपछि यसपाली परिवार पाल्न समस्या हुने उहाँले बताउनुभयो ।

अर्का कृषक विष्णुप्रसाद अधिकारीले पनि वर्षासँगै आएको हावाहुरीले धानबाली खराप नै भएको पीडा सुनाउनुभयो । सोही स्थानका कृषक हर्कबहादुर भुजेलले कात्तिकमा यत्ति लामो झरी परेको अनुभव आफूमा कमै रहेको र यो पटकको वर्षाले ठूलो क्षति गरेको बताउनुभयो ।

गोरखाको सो क्षेत्रका अधिकांश स्थानीयहरूको प्रमुख खाद्यबाली धान नै हो । सामान्यतया सो क्षेत्रका कृषकहरूले असारमा धान रोपाइ गरेर कात्तिकको अन्तिम साता भित्र्याउने गर्दछन् । धानको पकेट क्षेत्र जस्तो मानिएको सो क्षेत्रमा वर्षाले क्षति गर्नुमा कृषकहरूले ठूलो बोट भएको धान लगाउनु पनि मुख्य कारण रहेको विज्ञहरूको भनाइ रहेको छ ।

कृषि विज्ञहरूले सो स्थानमा कृषकहरूलाई छोटो बोट भएको धान लगाउन यसअघि नै सिफारिस गरेका छन् । सो ठाउँमा धेरै वर्षा हुने भएकाले पनि अग्ला बोट भएका धान नलगाउन सुझाइएको कृषि ज्ञान केन्द्र गोरखाका प्राविधिकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्