सुडानमा सैनिक विद्रोह, प्रधानमन्त्रीलगायत दर्जनौं नेता गिरफ्तार, संकटकाल घोषणा



खार्तोम, (एजेन्सी) ।

उत्तर अफ्रिकी मुलुक सुडानमा सेनाले सोमबार सरकारविरुद्ध विद्रोह गरेको छ । यसै दौडान सेनाले प्रधानमन्त्री अब्दुल्ला हम्डकसहित अन्य दर्जनौँ नेताहरूलाई गिरफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरूले पनि पुष्टि गरेका छन् । सेनाले संकटकालको घोषणा गरेको छ । नागरिक नेताहरूसहितको संयुक्त परिषद्को नेतृत्व गरिरहेका जनरल अब्देल फत्ताह बुर्हानलाई यस विद्रोहका लागि दोष दिइएको छ । त्यसै गरी सुडानी सञ्चार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको जनाएकोे छ । सत्ता विद्रोह गरेको सेनाले शुरूमा प्रधानमन्त्रीलाई पदत्याग गर्न अनुरोध गरेको थियो । तर, अनुरोध अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो । सेनाले अहिले उनलाई अज्ञात स्थलमा बन्दी बनाएर राखेको छ ।

नागरिक नेतृत्वहरूमासमेत सरिक सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्बन्धमा चिसोपना आएको थियो । अहिले सेनाले देशभर इन्टरनेट लगायतका सञ्चार सेवाहरू अवरुद्ध गरेको छ । त्यसै गरी राजधानी खार्तुम ओहोरदोहोर गर्ने मुख्य सडक र पुलहरू बन्द गरिएका छन् । ठाउँ ठाउँमा सेनाको यस कदमका विरुद्ध प्रदर्शनसमेत हुन थालेको छ भने प्रदर्शनमा थुप्रै सहभागीलाई सेनाले गिरफ्तार गरेको छ ।

देशका विभिन्न ठाउँमा दर्जनौं प्रदर्शनकारीहरू भेला भएर सेनाको कदमको विरोध गरेका छन् । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सेनाले अश्रुग्यास प्रहार गर्नेलगायतका अन्य प्रतिरोधात्मक कदम चालेको छ । प्रदर्शनकारीहरूले नागरिकसहितको सरकारलाई नै कार्याधिकार दिन माग गरेका छन् ।

यसैबीच, सुडानका लागि अमेरिकी दूत जेफ्री फेल्टम्यानले विज्ञप्ति निकाली नागरिक सरकारप्रतिको सुडानी जनताको चाहानालाई सैनिक विद्रोहले कुठाराघात गरेको उल्लेख गरेका छन् ।

तत्कालीन राष्ट्रपति बसिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनतासमक्ष अनुरोध गरेको छ । प्रधानमन्त्री अब्दुल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिकस्तरको संक्रमणकालीन सरकारका रूपमा गठन भएको थियो ।

सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्थ गरेको हो । गणतन्त्र सुडानको उत्तरमा इजिप्ट, उत्तर पश्चिममा लिबिया पश्चिममा चाड, दक्षिणपूर्वमा इथियोपिया, दक्षिण पश्चिममा सेन्ट्रल अफ्रिकन रिपब्लिक, पूर्वमा इरिट्रिया तथा उत्तर पूर्वमा लाल सागर रहेका छन् ।

सन् २०२० मा विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यहाँको जनसंख्या करिब ४ करोड ३८ लाख ५० हजार रहेको छ । सुडानको औपचारिक सरकारी भाषा अरबी र अंग्रेजी हुन् ।

प्रतिक्रिया दिनुहोस्