सर्वोच्चमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने



नेपाल समाचारपत्र, काठमाडौं ।

सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने भएको छ । गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न बारले प्रधानन्यायाधीशसँग माग राख्दै आएकोमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उक्त मागमा सहमति जनाउँदै मंगलबारबाट गोला प्रथा लागू गर्ने बताउनुभएको हो ।

नेपाल बार एसोसियसनका पदाधिकारीसँगको भेटमा आइतबार प्रधानन्यायाधीश राणाले आफूलाई गोलाप्रथाबाट पेशी तोक्न आपत्ति नभएको र नमुनाका रूपमा मंगलबारदेखि नै लागू गर्न तयार भएको बताउनुभएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘तर, हामीले यो विषय सर्वोच्चका सबै न्यायाधीशसँग छलफल गरेर टुंग्याउने भएका छौं । सोमबार सर्वोच्चको फुलकोर्ट बैठकमा नेपाल बारको प्रतिनिधि उपस्थिति भएर यो विषय टुंग्याउनेछौं ।’

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले पेसी व्यवस्थापनलाई विवादित र अनावश्यक चलखेल हुन नदिन तत्कालका लागि गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था मिलाउन सुझाव दिएको थियो । मुद्दाको दर्ता क्रम र प्राथमिकताअनुसार पालो पाउने गरी पेसीमा नचढ्ने, पहिला आउने पक्षलाई प्राथमिकता नदिएर चलखेल गरी अर्को पक्षलाई अगाडिको पेसी दिने गरेको र प्रधानन्यायाधीशले इजलास गठन गर्दा महत्वपूर्ण प्रकृतिका मुद्दा अमुक न्यायाधीशको इजलासमा राख्ने गरेको औंल्याउँदै न्यायाधीश कार्की नेतृत्वको समितिले पेसी व्यवस्थापन वैज्ञानिक, व्यवस्थित र विश्वसनीय बनाउन सो सुझाव दिएको थियो ।

समितिले गत असोज १ गते प्रधानन्यायाधीश राणालाई बुझाएको सो प्रतिवेदनमा विकृति हटाउन प्रधानन्यायाधीशले पेसी तोक्ने नभई स्वचालित प्रणालीबाट तोक्नुपर्ने र त्यसका लागि प्रविधि तयार नहुँदासम्म गोलाप्रथा लागू गर्नुपर्ने सुझाव दिइएको समितिका सदस्यसमेत रहनुभएका श्रेष्ठले बताउनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग सर्वोच्च अदालतमा भएको भेटघाटमा बारका प्रतिनिधिले स्वतन्त्र न्यायालयको संस्थागत सुधार हुन्छ भने सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने र आवश्यक परे राजीनामा दिन पनि पछि हट्न नहुने धारणा राखेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

छलफलमा मन्त्रिपरिषद्मा भागवण्डा खोजेका समाचारबारे पनि प्रधानन्यायाधीशसँग प्रश्न राख्दा प्रधानन्यायाधीश राणाले मन्त्रीमण्डलमा आफूले भाग नखोजेको स्पष्टीकरण दिँदै गजेन्द्र हमाललाई मन्त्री बनाउने सम्बन्धमा आफ्नो कुनै संलग्नता नभएको जवाफ दिनुभएको श्रेष्ठले बताउनुभयो । प्रधानन्यायाधीश राणाको भनाइ उद्धृत गर्दै श्रेष्ठले भन्नुभयो– ‘हमाल मेरो ०४१ सालमा मृत्यु भएको श्रीमतीको दाजु हो । हाम्रो पारिवारिक नाता त छ तर आऊ–जाऊ राम्रो छैन । उहाँ मन्त्री भएको विषयमा मलाई जोडियो । उहाँलाई मन्त्री बनाउन मेरो संलग्नता छैन । प्रधानन्यायाधीश त संस्था हो, जसले जे भन्छ, जे लेख्छ, संस्थाको नेतृत्वले उसको मुख लाग्दै हिँड्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्