बेमौसमी वर्षाले २५९१ हेक्टरमा लगाइएको धानबालीमा क्षति



विजय नेपाली,पोखरा ।

धान भित्र्याउने तम्तयार रहेको अवस्थामा अचानक आएको बेमौसमी वर्षाबाट गण्डकी प्रदेशमा ठूलो हानी पुगेको छ ।

बेमौसमी वर्षासँगै आएको हावाहुरी र बाढीका कारण गण्डकी प्रदेशमा २ हजार ५ सय ९१ हेक्टरमा लगाइएको धानबालीमा पूर्णरूपमा क्षति पुगेको छ ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले दिएको तथ्यांकअनुसार गण्डकी प्रदेशमा कुल १ लाख २० हजार ८ सय २० हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । देशको अन्य प्रदेशमा भन्दा गण्डकीमा भने क्षति न्यून रहेको कृषि विकास निर्देशनालय गण्डकीका निमित्त प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

यस्तै, गण्डकीमा ४ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा भने आंशिक क्षति पुगेको छ । गण्डकी प्रदेश पहाडी भेग बढी रहेकाले क्षति न्यून भएको रेग्मीले बताउनुभयो ।

वर्षाका कारण काण्डकी प्रदेशको कास्कीमा सबैभन्दा बढी क्षति पुगेको छ । कास्कीमा ७ प्रतिशत धानबालीमा पूर्णरूपमा क्षति पुगेको बताइएको छ । १३ दशमलव ९३ प्रतिशत आंशिक नोक्सानी भएको छ ।

कास्कीमा कुल २६ हजार ८१ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । जसमा १ हजार ७ सय ३५ हेक्टरमा पूर्ण क्षति पुगेको हो भने, ३ हजार ४ सय ५१ हेक्टर क्षेत्रफलमा आंशिक नोक्सानी भएको अनुमान गरिएको छ ।

यस्तै, पर्वतमा ८ हजार ९ सय १० हेक्टरमध्ये ४९० हेक्टरमा पूर्ण तथा १ हजार ४ सय ७० हेक्टरमा आंशिक नोक्सानी पुगेको हो । तनहुँमा भने आंशिक नोक्सानी सबैभन्दा बढी देखिएको छ । तनहुँमा आंशिक नोक्सानी २१ प्रतिशत रहेको छ । कुल १० हजार ८ सय ९८ हेक्टर मध्ये २ हजार २ सय ८८ दशमलव ५८ हेक्टरको धानबालीमा आंशिक तथा ३ सय ४८ दशमलव ७३९ हेक्टरमा पूर्ण क्षति पुगेको छ । नवलपुरमा २० हजार ६ सय ७० हेक्टरमध्ये १० हेक्टरमा पूर्ण क्षति पुगेको छ । ३० हेक्टर धानबालीमा आंशिक क्षति पुगेको छ ।

गोरखामा ११ हजार ७ सय ७८ हेक्टरमध्ये ७ हेक्टरमा पूर्ण तथा १ सय १२ हेक्टरमा आंशिक नोक्सानी भएको छ । बाग्लुङमा १ सय ३ हेक्टरमा आंशिक तथा म्याग्दीमा २०४ हेक्टर र लमजुङमा ७२ दशमलव २१ हेक्टरमा आंशिक क्षति पुगेको अनुमान गरिएकोे छ ।

स्याङ्जामा ९० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा आंशिक क्षति पुगेको हो । यस्तै, वर्षा हुनुअघि प्रदेशभर कुल २ हजार ३ सय ७८ हेक्टर क्षेत्रफलको धान भित्र्याइसकिएको कृषि विज्ञ शशि अधिकारीले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा तथ्यांक संकलन गर्ने कर्मचारी नरहेकाले वास्तविक तथ्यांक भने आउन बाँकी रहेको बताउनुभयो । ‘अहिले क्षति पुगेको धान काटिसकेका पनि छन् भने नकाटिएका पनि छन् । क्षति पुगेकामध्ये नकाटिएको धान ७५ प्रतिशत रहेको छ’ अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्