गाउँघरमा दशैं, किसान खेतमा



हेटौंडा ।

हेटौंडा–६, पुतलीबजारकी विष्णुमाया राईलाई हालसम्म दशैंले छुन सकेको छैन । दशैंमा घरको काम, बजार जाने, नयाँ लुगा लगाउने भन्दा पनि उहाँलाई खेतमा लहलह झुलेका धानका बालाले यी सब कुरालाई बिर्साइदिएको छ ।

खेतभरि धान पाकेर पहेंलपुर भएकै कारण उहाँ बेलुकासम्म खेतमै व्यस्त हुनुहुन्छ । सोमबार पुतली बजारनजिकको खेतमा धान काट्दै गर्नुभएकी उहाँले भन्नुभयो–नवमीको दिनसम्म त धान काटेर सकिन्छ होला ।६ कठ्ठा खेतमा धान लगाउनुभएकी उहाँ भन्नुहुन्छ–दशैं यसपालि लागेन । खेतकै कामको चटारो छ । के गर्नु, नकाटी नहुने । समयमै काटिएन भने धान कालो भएर कुहिन्छ ।

यस बेला पानी नपरेको मौका छोपी धान काट्ने उपयुक्त समय निकालिएको उहाँले बताउनुभयो । उहाँकै नजिकबाट दशैं किनमेलका लागि सयौं गाडी र मोटरसाइकलमा मानिसहरु हेटौंडा बजार आवतजावत गरिरहँदा उहाँलाई भने ती दृष्यले आकर्षित गर्न सकेको छैन ।हेटौंडा–१८, राजदेवीकी उमा देबकोटा यसपटक कामको चटारोका कारण दशैं आएजस्तो अनुभव हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो–फुलपातीमा खसी काट्ने हाम्रो प्रचलन भए पनि मज्जासँग मासु खाने फुर्सद्सम्म नहुने जस्तो छ । टीकाको दिन एक-दुई घण्टा फुर्सद् हुने गरेकोमा दिनभर काममै व्यस्त रहने देखिसकेको उहाँले बताउनुभयो ।

राजदेवीका केही स्थानमा उहाँजस्ता मानिसहरु धान काट्ने लर्को देखिन्छन् । दशैंमा पिङ खेल्ने, साथीसँगी बसेर रमाइलो गर्ने र मान्यजनबाट आशीर्वाद लिने गरिए पनि यहाँ धान काट्ने कामले उहाँहरुलाई फुर्सद् छैन ।देबकोटासँगै धान काटिरहनुभएकी दिलु सञ्जेल भन्नुहुन्छ–पहिले दशैंमा खाउँला, पिउँला, रमाउँला, दुःख बिर्साउँला भन्ने हुन्थ्यो । तर, यस वर्ष दशैं आएजस्तो अनुभव भएकै छैन ।हेटौंडाआसपास धान भियाउने काममा किसान व्यस्त देखिन्छन् । गाउँघरमा भने घाँस काट्ने, लिपपोत गर्ने काम एकैपटक सुरु भइरहेको छ । गाउँघरमा आफन्त, गाउँटोलका छरछिमेकसँग भेटघाटसम्म नहुने खेतको चटारोले देखाइसकेको छ ।

स्थानीय किसान दशैं मनाउने भन्दा पनि काम कहिले सक्ने भन्ने चिन्तामा छन् । सर्वत्र दशैंको चहलपहल बढिरहेको बेला हेटौंडा उपमहानगरपालिकाका केही स्थानीयलाई भने धान काट्ने चटारोले छाडेको छैन । उनीहरु एकाविहानै खेतमा पुग्छन्, धान काट्छन् अनि खेतभरि बिस्तार लगाएर राति अबेरमात्र घर फर्कन्छन् ।हेटौंडाका सँस्कृतिविद् रामचन्द्र आचार्य ९फुर्सती० पछिल्लो समयमा मकवानपुरमा दशैं कामको चटारोमै बित्ने गरेको बताउनुहुन्छ । ‘घटस्थापनादेखि पिङ हाल्ने, चोकचोकमा दुर्गाप्रतिमा निर्माण गर्ने चलन थियो । तर, हाल जिल्लाबासीमा दशैंप्रतिको खासै रुचि देखिँदैन,’ उहाँले भन्नुभयो । जति विकास हुँदै गयो, यहाँ दशैं सहज बन्दै गएको छ । तर, कामको सिजनमा पर्ने भएकाले दशैंको अनुभूति हुने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्