नेपालको पर्यटन विकासका लागि यूएनडब्लूटीओ सकारात्मक



काठमाडौं (नेस) ।

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न सकारात्मक देखिएको छ ।

माल्दिभ्समा आयोजित (यूएनडब्लूटीओ) एसिया प्यासिफिक क्षेत्रको पर्यटन नीति र रणनीति विषयक तालिम कार्यक्रमका अवसरमा भएका अन्तक्र्रिया तथा द्विपक्षीय छलफलका क्रममा (यूएनडब्लूटीओ) नेपालको पर्यटन प्रर्वद्धनका लागि सकारात्मक देखिएको हो ।
अक्टोबर ५ देखि ८ सम्म माल्दिभ्समा आयोजित कार्यक्रममा (यूएनडब्लूटीओ) का महासचिव जुराब पोलोलिकास्भिल्ली र (यूएनडब्लूटीओ) का क्षेत्रीय निर्देशक ह्यारी ह्वाङसँग नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भेट गर्नुभयो ।

भेटका क्रममा महासचिव जुराब र क्षेत्रीय निर्देशक ह्यारीले सो धारणा राखेका हुन् । महासचिव जुरावसँगको भेटमा कोभिडपछिको अवस्थामा पर्यटन पुरुरोत्थानका लागि (यूएनडब्लूटीओ) सँगको सहकार्य, दिगो पर्यटन विकास, प्राकृतिक तथा पर्वतीय पर्यटन विकास र संस्थागत क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल भएको र यसमा सहयोग गर्न उनीहरू इच्छुक रहेको डा. रेग्मीले जानकारी दिनुभयो ।

डा. रेग्मीका अनुसार नेपालको पर्यटन प्रर्वद्धनका लागि (यूएनडब्लूटीओ) सकारात्मक रहेको छ । ‘यूएनडब्लूटीओबाट विभिन्न देशहरूले धेरै खालका सहयोग भइरहेका छन । जसबाट ती देशहरूले प्रत्यक्ष फाइदा लिएका छन् ।

माल्दिभ्सका पर्यटनमन्त्री डा. अब्दुल्लाह मौसुमसँगको भेटमा नेपाल र माल्दिभ्सबीच पर्यटन प्रर्वद्धनका विषयमा आपसी सहकार्यका विषयमा छलफल भएको डा. रेग्मीले जानकारी दिनुभयो ।

यस्तै, सो कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालको पर्यटनको पछिल्लो अवस्थाका साथै अन्तर्राष्ट्रिय पर्यटनको पुनः सञ्चालन र आन्तरिक पर्यटन प्रर्वद्धनका विषयमा विशेष सेसनमा आफ्नो प्रस्तुति दिनुभएको थियो भने कार्यक्रममा सहभागीहरूलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

कार्यक्रममा, नेपाल, भारत, चीन, बंगलादेश, भुटान, माल्दिप्स, श्रींलका, चीन, हङकङ, पाकिस्तान, कोलम्बिया, इन्डोनेसिया, भियतनाम, मंगोलिया, इरान म्यानमार, सामो, मकाउ, कोरिया, स्पेन, इटाली, इजिप्ट र फिजीलगायत देश र क्षेत्रबाट प्रत्यक्ष सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्