लुम्बिनी प्रदेशको नयाँ बजेट करिब ४१ अर्ब



नेपाल समाचारपत्र, बुटवल ।

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट विस्थापन गरी लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपियाँबराबरको नयाँ बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले ल्याएको बजेट बराबरकै बजेट घोषणा गर्नु भएको हो ।

कुल बजेटमध्ये चालू खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपियाँ र पुँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख रुपियाँ रहेको छ । ३३ दशमलव ३१ प्रतिशत चालू र ५४ दशमलव ८७ प्रतिशत पुँजीगततर्फ बजेट छुटाइएको छ । त्यसबाहेक ११ दशमलव ८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपियाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको अर्थमन्त्री खड्काले घोषणा गर्नुभयोे ।
‘समृद्ध प्रदेश आत्मनिर्भर’ प्रदेश भन्ने नाराका साथ केही नयाँ कार्यक्रमसहित अधिकांश पुरानै सरकारले ल्याएका कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसअघि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका रुपमा रहेको कार्यक्रम परिवर्तन गरी मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका रुपमा ल्याइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धन, कोरोना नियन्त्रण र राहत जस्ता केही नयाँ कार्यक्रम समावेश गरिएको छ ।

१८ वर्षमुनिका बालबालिकालाई मध्यनजगर गरी कोभिड खोप लगाउन संघीय सरकारसँग समन्वय गर्ने बजेटमा भनिएको छ । विकट क्षेत्रमा घरदैलौमा डाक्टर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब स्थापनाका लागि १० करोड बजेट छुटाइएको छ । त्यस्तै मृगौला प्रत्यारोपण, मुटुको भल्ब फेर्ने, क्यान्सर रोग उपचारका लागि अतिरिक्त २ लाखसम्म प्रदेश सरकारले दिने बजेटमा घोषणा गरिएको छ ।

‘समृद्व लुम्बिनी : आत्मनिर्भर प्रदेश’ को ध्येय प्राप्त हुनेगरी क्षेत्रगत रूपमा बजेट विनियोजन गरिएको छ । बजेटमा कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान तथा उपचारको लागि आवश्यक पर्ने औजार उपकरण, औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको खरिदको लागि प्रदेश कोभिड कोषमार्फत खर्च गर्ने गरी आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।

हरेक जिल्लामा एक पालिका छनोट गरी विपन्न घर परिवार लक्षित सस्तो मूल्यमा चामल, दाल, नुन, चिनी, गहुँ र तेल जस्ता अत्यावश्यक खाद्यवस्तु उपलब्ध गराउन सार्वजनिक सुलभ पसल सञ्चालन गरिन बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्