गोदाममा चामल छ, किन्दैनन् उपभोक्ता



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको वीरगन्जमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा चाडपर्वका लागि लक्षित गरी चामल खरिदको व्यवस्था मिलाइएको भए पनि चामल खरिदका लागि उपभोक्ता नै नजाने गरेको पाइएको छ । मध्य तराईको पर्सा, बारा र रौतहटका उपभोक्तालाई लक्षित गरी पर्सामा रहेको राज्य मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा चाडपर्वलाई लक्षित गरी उपभोक्ताका लागि बिक्री खुला गरिएको छ । तर, असोज १ देखि चाडपर्वलाई लक्षित गरी खाद्यान्न छुटसहित बिक्री खुला गरिएको कम्पनीबाट जम्मा साढे चार क्विन्टल मात्र बिक्री भएको छ।

बिक्री भएको चामल पनि स्टिम जिरा मसिनो चामल रहेको कम्पनीका प्रमुख विकास कटुवालले बताउनुभयो । चाडपर्वका समयमा राज्यको तर्फबाट दिएको छुटको चामल किन्न उपभोक्ता आउने नै नगरेको त्यहाँका कर्मचारीले बताएका छन् । चाडपर्वलाई लक्षित गरी कम्पनीले तीन हजार क्विन्टल सोना मन्सुली, चार हजार क्विन्टल स्टिम जिरा मसिनो र एक हजार क्विन्टल बासमती चालम कम्पनीले मौज्दात राखेको छ। तर, उपभोक्ताको ध्यान अझै राज्यको सस्तो बिक्री कक्षतर्फ नपुगेको साविकको खाद्य संस्थान हालको कम्पनीका प्रमुख कटुवालले बताउनुभयो । खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता ठग्न पल्केका खाद्यान्नको कारोबारीको चंगुल र घर छेउबाटै अलि बढी मूल्यमा नै भए पनि किन्न बानी परेका उपभोक्ताका कारण मिसावट नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल यत्तिकै थन्किएको छ।

त्यस्तै दशैंलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले १ हजार खसीबोका खरिद गर्ने तयारी गरेको छ । मकवानपुरबाट ती खसीबोका खरिद गर्न लागेको शाखाका सूचना अधिकृत मुनिलाल कुशवाहले बताउनुभयो । पर्सा–बारामा पर्याप्त खसीबोका नपाइने भएकाले शाखाले बर्सेनी मकवानपुरबाट खरिद गर्दै आएको छ । खरिदका लागि कार्यालयको कर्मचारी टोली मकवानपुर गएको छ । कुशवाहका अनुसार १८ किलो माथिको वजनको बोका प्रतिकिलो ५ सय २० रुपियाँमा शाखाले खरिद गर्न लागेको छ । २० देखि २५ किलोको खसी प्रतिकिलो ५ सय ७५ रुपियाँमा र २५ किलो माथिको खसी प्रतिकिलो ५ सय ९५ रुपियाँमा खरिद गर्न लागिएको उहाँले बताउनुभयो । खसीबोका खरिदमा शाखाले करिब १ करोड ७५ लाख रुपियाँ लगानी गर्न लागेको छ । मकवानपुरमा खरिद गरिएका खसी बोका असोज २२ गते राजधानी काठमाडौं पुगिसक्ने उहाँले बताउनुभयो  । बर्सेनी दशैंलाई लक्षित गरी शाखाले यति संख्यामा खसीबोका खरिद गरेर संघीय राजधानी काठमाडौं पठाउने गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयले हरेक वर्ष खसीबोका पाइने क्षेत्रका शाखालाई खसीबोका खरिदको अनुमति दिँदै आएको छ । वीरगन्ज शाखाअन्तर्गत मकवानपुर क्षेत्रमा बढी बाख्रापालन भएकाले त्यहाँबाट सधैंजसो बढी संख्यामा खरिद गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्