पुनर्निर्माणको काम समयमा पूरा गर्न जोड



नेपाल समाचारपत्र, काठमाडौंं ।

प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी कार्यहरु हस्तान्तरण भएका मन्त्रालय एवं निकायबीच हस्तान्तरण भएका कार्यहरुलाई तोकिएको समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ ।

त्यसक्रममा सबै पक्षबाट पुनर्निर्माणका बाँकी कार्यलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिइयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भदौ ९ गतेको निर्देशक समितिले निर्देशित गरेअनुसार पुनर्निर्माणलाई अगाडि लैजानुपर्ने बताउनुभयो । हस्तान्तरणका क्रममा संगठनात्मक संरचना, जनशक्ति एवं आवश्यक बजेटको प्रष्ट व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको जोड थियो ।

समितिका सभापति कल्याणी कुमारी खड्काले बाँकी पुनर्निर्माणका कार्यहरु अगाडि बढाउने क्रममा समन्वयको समस्या नआओस् भनेर सबै निकायबीच संयुक्त छलफलको आयोजना गरिएको बताउँदै समयमै सम्पन्न गर्न पर्याप्त स्रोत र जनशक्ति परिचालन गर्न मन्त्रालयलाई समितिका तर्फबाट निर्देशन दिनुभयो ।

सांसद गणेशकुमार पहाडीले विगतमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट सम्पन्न हुन बाँकी रहेका कतिपय कार्यहरू अझै पनि अलपत्र रहेको दृष्टान्त राख्दै पुनर्निर्माणका बाँकी कार्यहरु त्यस्तो हुन नदिन मन्त्रालयहरुको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै सांसद केदार सिग्देलले कुनै निश्चित कार्यभार तोकिएको समयमा पूरा गरेर हस्तान्तरण गर्नु सकरात्मक भएको उल्लेख गर्दै नेपालीले पनि थोरै स्रोतमा धेरै काम गर्न सक्छन् भन्ने सन्देश गएको बताउनुभयो ।

सांसद आशाकुमारी विकले मन्त्रालयहरुले प्राविधिकहरु करारमा राख्दा पुनर्निर्माणमा संलग्न भएर उत्कृष्ट कार्य गरेकाहरुलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।

सांसद यज्ञराज सुनुवारले रहरलाग्दा भौतिक संरचनाहरु बनेको उल्लेख गर्दै गुम्बा पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद गजेन्द्रबहादुर महतले स्थानीय तहमा हस्तान्तरणको मोडालिटीबारे प्रष्ट हुनुपर्ने बताउनुभयो ।

अन्तर मन्त्रालय तथा निकायबीच चुस्त समन्वय हुनुपर्नेमा सांसद विना कुमारी श्रेष्ठको जोड थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले यसबीचमा पुनर्निर्माण प्राधिकरणसँग निकट समन्वयमा काम हुँदै आएको जानकारी दिंदै त्यसबाट पुनर्निर्माण प्राधिकरणको कार्यकालपछि हस्तान्तरण भएर आउने कार्यहरु संचालन गर्ने आधार बनेको बताउनुभयो ।
छलफलमा अर्थ सचिव मधुकमार मरासिनीले प्रतिस्थापन विधेयकमार्फत् पुनर्निर्माणको बजेट चार अर्बले बढाइएको जानकारी दिँदै विगत वर्षहरुजस्तै पुनर्निर्माणका बाँकी कार्यहरुलाई पनि प्राथमिकता दिइएको बताउनुभयो ।

शिक्षा सचिव रामप्रसाद थपलिया, संघीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला, शहरी विकास सचिव डा।रमेश प्रसाद सिंहले हस्तान्तरण भएर आएका कार्यहरु प्राधिकरण सहितका निकायसँगको समन्वयमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वय इकाईका आयोजना निर्देशक रामशरण सापकोटा, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठा, शहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वय इकाई (आवास तथा भवन) का आयोजना उपनिर्देशक कोषनाथ अधिकारीले हस्तान्तरण भएर आएका कार्यहरुको विवरण, तिनलाई कार्यान्वयन गर्ने योजना, बजेट तथा जनशक्ति व्यवस्थापन लगायतका विषयबारे जानकारी दिँदै पुनर्निर्माणका कार्यलाई प्राथमिकता दिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्