महाकाली अस्पतालमा समस्यैसमस्या



मनोज भट्ट, महेन्द्रनगर ।

महाकाली अस्पतालमा संख्यात्मक रूपमा डाक्टरहरू भए पनि अस्पतालले रिफर सेन्टरभन्दा माथिको गति लिन सकेको छैन् । डाक्टरका अनुसार पर्याप्त मात्रामा चाहिने उपकरणको अभावमा महाकाली अस्पताल रिफर सेन्टरभन्दा माथि उठ्न नसकेको हो ।

अस्पतालमा आएका सिटी स्क्यान, इन्डोस्कोपी, मुटु, नसा र मनोविज्ञानसम्बन्धी बिरामीहरूलाई रिफर गर्ने प्रवृतिको अन्त्य हुन सकेको छैन् । अस्पतालबाट प्रदान गरिने सेवा लिन आउने सेवाग्राहीलाई छिटो–छरितो र गुणस्तरीय सेवा प्रदान गर्नसमेत अस्पताल प्रशासन चुकेको छ । जुनसुकै रोगका बिरामीले पनी घण्टौंसम्म लाइन बसेर टिकट तथा बिल काट्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।

यद्यपि, कोरोना संक्रमित तथा परीक्षण गर्न आउने बिरामीले समेत अन्य सेवाग्राहीले झंै सोही लाइनमा बसेर सेवा लिनुपर्ने अवस्था महाकाली अस्पतालमा छ । अस्पतालमा एक मात्रै टिकट तथा बिल काउन्टर हुँदा सेवाग्राही मारमा परेका छन् । बिहानै ९ बजेदेखि लाइनमा बसेर दिउँसोसम्म टिकट तथा बिलको पालो नआउने गरेको भीनपा–१५ की रमिता भट्टले गुनासो गरिनुभएको हो ।

‘बच्चाको उपचार गर्नका लागि भनेर साढे ९ बजे अस्पताल पुगें, अहिले १२ बजिसक्यो मेरो पालो आएको छैन्, यति धेरै सेवाग्राही छन्, टिकट र बिल काट्ने एउटै काउन्टर रहेछ । निकै समस्या भयो ।’ – सेवाग्राही भट्टले भन्नुभयो ।

शिशु तथा बालबालिकालाई विभिन्न समयमा लगाउनुपर्ने सुईका लागि समेत अस्पतालमा लाइन बस्नुपर्छ । शिशु तथा बालबालिकालाई काखी च्यापेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीले जनाएका छन् ।

त्यसै गरी बृद्ध बृद्धाहरूले पनि उपचारका लागि लाइन नै बस्नुपर्ने अवस्था छ । कहिलेकाँही अस्पतालमा डाक्टर उपलब्ध नहुँदा भोलि आउनुहुन्छ भन्दै टार्दा टार्दै हप्तौं दिन अस्पताल धाउनमै बितेको गुनासोसमेत सेवाग्राहीसँग छन् । अस्पतालमा उत्पन्न यावत समस्याहरूको सामाधानतर्फ अस्पताल प्रशासन र व्यवस्थापन समितिको ध्यान जान सकेको छैन् ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरका अनुसार अहिले अस्पतालमा टिकट काट्दा टोकनको व्यवस्था गएिकोले सेवाग्राहीहरूलाई लाइनमा लाग्न सजिला भएकोे र अहिले ओपिडीको टोकन बिहान आठ बजेबाट एघार बजेसम्म र इमरजेन्सीको चौबिसै घण्टा लिन सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

तर, अहिले सम्पूर्ण सेवाग्राहीको विवरण ईएचआईको माध्यमबाट सङ्कलन गरिने र त्यसमा पनि इटरनेटले छिटो काम नगरिदिँदा सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उनले स्वीकार गरेका छन् । बोक्सरका अनुसार अहिले १९ विशेषज्ञ र १२ एमबीबीएस गरी ३१ जना डाक्टर अस्पतालमा उपलब्ध छन् ।

त्यसमा पनि अस्पतालाई सिटी स्क्यान, इन्डोस्कोपी, मुटु, नासा, मनोविज्ञान र एमआरआईसम्बन्धी विशेषज्ञ डाक्टर उपलब्ध भए अस्पतालबाट रिफर हुने बिरामीको संख्या दश प्रतिशतभन्दा पनि कम रहेकोमा यसलाई शून्यमा झार्न सकिने अध्यक्ष बोक्सरको दाबी छ ।

ईएचआईमा देखिएको इनटरनेटको समस्या जति सक्दो चाँडो सामाधान गरी सेवाग्राहीले घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक परिस्थितिको पनि अन्त्य गरी सेवाग्राहीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाह गर्ने उनको भनाइ छ ।

त्यसै गरी महाकाली अञ्चल असपतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरि कुमार श्रेष्ठका अनुसार अहिले अस्पतालमा ओपीडी, इमरजेन्सी सेवा लिनेहरूको संख्या दिनानुदिन बढिरहेको छ ।

बिमा सेवा लिनेहरूको संख्यामा पनि उलेख्य रूपले वृद्वि भए पनि नेपाल स्वास्थ्य बिमा संस्थानले अस्पतालले दाबी गरे जति रकम नदिँदा अस्पताल घाटामा जाने स्थिति रहेको श्रेष्ठले दुखेसो गरे । तर पनि अस्पतालले आफूले दिने सेवामा कुनै कसर बाँकी नराखेको श्रेष्ठको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्