दुई वर्ष यताकै न्यून कारोबार



काठमाडौं, (नेस) ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट भएको छ । यस दिन नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २६३३ दशमलव ४२ बिन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ । कुल २२५ कम्पनीको ७३ लाख २१ हजार कित्ता शेयर ३ अर्ब ७० करोड २९ हजार रुपियाँमा खरिद बिक्री भएको छ । यो रकम दुई वर्ष यताकै न्यून कारोबार हो ।

बिहीबार नेप्सेमा कारोबारपछि नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ३६ खर्ब ८६ अर्ब ३३ करोड आठ लाख रुपियाँमा झरेको छ । भएका १३ समूहमध्ये तीन समूहक बाहेक सबै समूहको सूचक घटेको छ । जसमध्ये व्यापार समूह ११८ दशमलव १३, अन्य समूह ४ दशमलव ५६ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ३ अंकले बढेको छ । यस्तै बैंकिङ समूह २० दशमलव ६, होटल तथा पर्यटन ४४ दशमलव १५, विकास बैंक समूह १५५ दशमलव ७५, जलविद्युुत् ८२ दशमलव ५१, वित्त ६८ दशमलव ९६, निर्जीवन बीमा १०४ दशमलव ५७, उत्पादन १०२ दशमलव ९७, लघुवित्त ३८ दशमलव २२, जीवन बीमा १०१ दशमलव ४२ र लगानी १ दशमलव शून्य ९ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल बैंक पहिलो स्थानमा रहेको छ । सो बैंकको १२ करोड ७७ हजार रुपियाँको कारोबार भएको छ । यस्तै अपि पावर कम्पनीको १० करोड ८३ लाख ३२ हजार, मेगा बैंकको १० करोड नौ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ८४ लाख ६५ हजार र नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ४० लाख ३५ हजार रुपियाँको कारोबार भएको छ ।

नेप्से परिसूचकमा उच्च गिरावट भए पनि नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै रुरु जलविद्युत् परियोजना र सिभिल लघुवित्तका लगानीकर्ताले पनि कमाएका छन् । उता, गुडविल फाइनान्स प्रिमियर इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, कर्पोरेट डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावरका लगानीकर्ताले गुमाउनेमा अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्