‘साइन्स इन फाइभ अडियो तथा भिडियो’ अब नेपाली भाषामा



काठमाडौं, (नेस) ।

विश्व स्वास्थ्य संगठनद्वारा उत्पादित ‘साइन्स इन फाइभ अडियो तथा भिडियो’ शृंखला अब नेपाली भाषामा सुन्न सकिने भएको छ । विश्व स्वास्थ्य संगठनका विज्ञहरूले कोभिड–१९ सम्बन्धी विषयमाथि सरल भाषामा छलफल गर्ने यस शृंखलालाई विश्व स्वास्थ्य संगठन नेपालले नेपाली भाषामा अनुवाद गरेको हो ।

कोभिड–१९ सम्बन्धी भ्रम र गलत समाचार फैलिरहेको अवस्थामा इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी यो पोडकास्टको प्रसारण शुरु गरिएको हो । यो पोडकास्टले नेपाली जनमानसमा व्याप्त भ्रमलाई चिर्न र सत्य सूचनाहरूमा मात्रै विश्वास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । पोडकास्टका नयाँ अंकहरू प्रत्येक शुक्रबार साउन्ड क्लाउडमा विज्ञान च्यानलमार्फत प्रसारण हुने भएको हो ।

आज शुक्रबारदेखि प्रसारण गरिने पोडकास्टको पहिलो अंकमा विश्व स्वास्थ्य संगठनकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा. ओज्गे टुनचाल्पले कोभिड–१९ महामारीको समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नुहुनेछ ।

नेपाली समुदायमाझ पनि कोभिड–१९ सम्बन्धी महत्वपूर्ण जानकारीको पहुँच पुर्‍याउने उद्देश्यले विश्व स्वास्थ्य संगठन नेपालले यस शृंखलालाई नेपाली र मैथिली भाषामा अनुवाद गरी युट्युब च्यानलमार्फत पनि प्रसारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्