मुटुरोगबाट कसरी बच्ने ?



हामीले खाएका चिल्ला र अन्य खानेकुराले शरीरमा धेरै कोलेस्ट्रोल जम्मा हुन्छ, जसले मुटुलाई आफ्नो कार्य गर्नमा अवरोध गर्छ । यसका कारण मुटु दुख्ने र हृदयघातसमेत हुने सम्भावना हुन्छ । ब्लकेज, सुजन, पोल्ने, खराब जीवनशैली, तनावजस्ता कारणहरुले गर्दा मुटुसम्बन्धी समस्या उत्पन्न हुन्छ । कोलेस्ट्रोलको कारण मुटुमा ३० प्रतिशत मात्र समस्या उत्पन्न हुन्छ । स्वस्थ जीवनशैली अपनाएर मुटुसम्बन्धी रोगहरु लाग्नबाट बच्न सकिन्छ ।

मुटुरोगका लक्षणहरु धेरै हुन्छन् । हृदयाघात भएमा वा मुटुको धमनीमा अवरोध खडा भएमा छाती दुख्नुका साथै छातीमा दबाब महसुस हुने गर्छ । मुटुसम्बन्धी कुनै रोग लागेमा शुरुवाती चरणमा व्यक्तिलाई वाकवाकी लाग्ने, छाती दुख्ने तथा पोल्ने, पेट पोल्ने तथा पाचन प्रक्रियासम्बन्धी समस्या हुने गर्छ । मुटुमा कुनै समस्या भएमा मुटुका रोगीहरुलाई छाती तथा काँधमा पीडा हुने गर्छ । र, यो दुखाइ क्रमशः हाततिर सर्दै जान्छ ।

यसै गरी शरीरबाट अनायासै पसिना बग्नु पनि मुटुरोगको प्रमुख लक्षण हो । कुनै व्यक्तिलाई मुटुसम्बन्धी समस्या भएमा विनाशरीरिक परिश्रम पनि शरीरबाट पसिना निस्कने गर्दछ । मुटुरोग लागेमा रुघाखोकीले लामो समय सताउनुका साथै थुक सेतो वा गुलावी हुने गर्छ । जुन हृदयाघातको एउटा लक्षण हो । सास लिनमा कठिनाइ महसुस हुनु वा कम सास फेर्नु पनि हृदयघातको प्रमुख लक्षण हो । खुट्टा तथा पैताला सुन्निनु भनेकै मुटुमा रगतको सञ्चार सही तरिकाले नहुनु हो । र, मुटुमा रक्तसञ्चार सही तरिकाले नहुनु भनेकै मुटुरोगको संकेत हो । कैयौंपटक चक्कर आउनु तथा टाउको घुम्नु, बेहोस हुनु तथा थकान महसुस हुनु पनि मुटुरोगको संकेत हुनसक्छ ।

यस्ता लक्षय देखिएमा डाक्टरको सल्लाहमा उपचारको बाटोमा लागिहाल्नुपर्छ । चिकित्सकहरुका अनुसार मुटुरोग लाग्ने प्रमुख कारण भनेको तनाव नै हो । त्यसैले, मुटुरोग लाग्नबाट बच्नका लागि सबैभन्दा पहिले तनाव कम गर्न जरुरी छ । त्यस्तै, नियमित व्यायाम तथा चिकित्सकको सल्लाहमा मुटुसम्बन्धी एक्सरसाइज गरेर पनि मुटुसम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

मुटुमा अक्सिजनको प्रवाह राम्ररी नभएमा पनि मुटुसम्बन्धी रोग लाग्ने गर्छ । त्यसैले मुटुमा कुनै अवरोध आउन नदिन तथा मुटुको धमनीलाई स्वस्थ तथा खुला राख्नका लागि पनि स्वच्छ वातावरणमा लामो–लामो सास फेर्न जरुरी छ । यसले पनि मुटुलाई स्वस्थ राख्न सहायता प्रदान गर्दछ ।

ताजा, पोषिलो, स्वस्थकर र सन्तुलित खानाले मुटुलाई बलियो र स्वस्थ्य राख्छ । जबकि खराब खानपान मुटुरोगको कारण बन्ने गर्छ । प्रशोधित, चिनीजन्य, बोसोयुक्त, कृत्रिम, मदिराजन्य खानपान मुटुको लागि हानिकारक मानिन्छ । बढी तौल हुनुको अर्थ हाम्रो कम्मरवरपरको भागमा अतिरिक्त बोसो जम्नु हो । यसले मुटुसम्बन्धी समस्याहरु उत्पन्न गराउँछ । दिनहुँ नियमित व्यायाम गर्नाले मुटुसम्बन्धी रोगहरु लाग्नबाट बच्न सकिन्छ । स्वस्थ खाना र आवश्यक व्यायाम गर्नाले मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।
तनावलाई नियन्त्रणमा राख्नका लागि ध्यान गर्ने, तनावमुक्त हुने किसिमका अभ्यासहरु गर्नुपर्छ । अनिद्रा आफैंमा समस्या हो । यसले मोटोपन बढ्ने, उच्च रक्तचाप हुने, हदयघात हुने तथा मधुमेहजस्ता रोगहरु पैदा गर्छ । त्यसैले पर्याप्त र गहिरो निद्रा जरुरी छ । मुटुलाई स्वस्थ राख्न पनि निद्राको भूमिका उत्तिकै छ ।

अहिलेको तनावग्रस्त जीवनशैलीमा मुटुको रोगको खतरा दिन–प्रतिदिन बढ्दो छ । यही कारण धेरैजना हृदयघातको जोखिममा छन् । मुटुलाई स्वस्थ राख्नका लागि तनावरहित हुनु आवश्यक छ । त्यस्तै, सक्रिय जीवनशैली र स्वस्थ खानपानले मुटुरोगको जोखिम कम हुन्छ ।

यहाँ बताइएअनुसारको खाने तालिका अपनाउनु जरुरी छ । बिहान नास्ता खानु उपयुक्त हुन्छ । साथै समयमै मध्याह्नको खाना पनि खाने गर्नुपर्छ । नुनको प्रयोग सकेसम्म घटाउनुपर्छ । कम बोसोयुक्त खानेकुरा सेवन गरौं । ताजा हरियो सब्जी र फल सेवन गरौं । जति रंगको फल हुन्छ, स्वास्थ्यका लागि उत्ति नै लाभकारी हुन्छ । चुरोट सेवन गर्ने बानी त्यागौं । खाना बनाउनका लागि सम्भव भएसम्म जैतुनको तेल वा ओलिभ आयल प्रयोग गरौँ । पर्याप्त निद्रा लिनुपर्छ । राम्ररी सुत्न सकिएन भने यसले शरीरको स्ट्रेस हर्मोन बढाउँछ र धमनीलाई बाधा पु¥याउँछ ।

यसै गरी घन्टौंसम्म एकै स्थानमा र एकै पोजिसनमा बस्नु पनि मुटुको स्वास्थ्यका लागि ठीक होइन । थोरै समय व्यायामका लागि निस्कनुपर्छ । प्रतिदिन कम्तीमा आधा घण्टा व्यायाम गरौं । यसले हृदयघातको सम्भावना एक तिहाइसम्म कम हुन्छ । तनाव मुटुको स्वास्थ्यका लागि हानिकारक हुन्छ । तनावको कारण मस्तिष्कमा जुन रसायन स्रावित हुन्छ, त्यसले मुटुको सबै प्रणालीलाई खराब गर्छ ।
मुटुसम्बन्धी समस्या भएकाले निम्न घरेलु विधि अपनाउन सकिन्छ । पानी र कागतीको रस नियमित पिउने गर्नुहोस् । मौसमी फल, लिची, स्याउ सेवन गर्नुहोस् । सब्जीको रुपमा पिँडालु सेवन गर्नुहोस् । खानामा दही सामेल गर्नुहोस् ।

– सीमा थापा, काभ्रे ।

पिनास के हो र कसरी जोगिने ?

पिनास नाकको भित्र दायाँ–बायाँ रहने खालि ठाउँमा अवरोधका कारण हुने रोग हो । हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने बिरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि अस्पताल आउनेहरू हुन्छन् । नाकमा जे समस्या भए पनि पिनास भन्ने चलन पनि छ । कतिपय रोग निश्चित समयपछि आफैं निको हुन्छ । बिरामीहरू आत्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन् । तर निश्चित समयपछि सामान्य खालको पिनास आफैं निको भएको भेटिन्छ ।
पिनास भएमा बच्चालाई रूघा लागेको जस्तो लक्षण हुन्छ । जस्तो– नाकबाट सिँगान बगिरहनु, ज्वरो आउनु आदि । वयष्कमा दिउँसो सुख्खा खोकी आउने हुन्छ । रूघाको लक्षण, ज्वरो, खराब पेट, दाँत दुखाइ, कानमा दुखाइ इत्यादि लक्षण देखिए पनि पिनास हुनसक्छ । नाक बन्द भइरहने, टाउको भारी हुने, अघिल्लो भाग निधारमा दुखिरहने, सुँघ्ने शक्तिमा कमी आउने, साइनसको क्षेत्रमा पीडा हुने, आधा कपाल दुख्ने पिनासका लक्षणहरु हुन् ।

त्यसै गरी नाकबाट दुर्गन्धित रक्तमिश्रित पहेँलो सिँगान आउने, माथिल्ला दाँत दुख्ने, आँखाको परेला सुन्निने, नाकपछाडिबाट घाँटीमा केही बगिरहेजस्तो हुने, घाँटी खसखस हुने पनि पिनासको लक्षण हो । यसबाट जोगिनका लागि प्रशस्त मात्रामा पानी पिउने, चिसोबाट जागिने, तातो पानीको बाफ लिने, धूलो–धुवाँबाट जोगिने, सफा मास्क लगाउने गर्नुस् ।

त्यसै गरी साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने, आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने, एलर्जीको उपचार गराउने, नाकभित्र मासु सुन्निएको, पलाएको, नाकभित्रको हाड बांगिएको आदि स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्नुपर्ने पनि हुनसक्छ ।

– सीता हमाल, मुगु ।

प्रतिक्रिया दिनुहोस्