पाकिस्तानमा १२ वटा विदेशी आतंकवादी संगठन : प्रतिवेदन



इन्डिया न्युज नेटवर्क ।

अमेरिकी कंग्रेसको अनुसन्धानात्मक प्रतिवेदनअनुसार पाकिस्तान ‘विविध क्षेत्रीय आतंकवाद समूहका निम्ति एक सुरक्षित स्थल’ बनेको छ ।

यस प्रतिवेदनअनुसार पाकिस्तान १२ ‘विदेशी आतंकवादी संगठन’ को एक परिचालन आधार शिविर बनेको छ, जसमा पाँच भारत केन्द्रित संगठन पनि समावेश छन् ।

पाकिस्तानको वास्तविक अनुहारको पर्दाफास गर्दै प्रतिवेदनले पाकिस्तान विविध क्षेत्रीय आतंकवाद समूहका निम्ति एक सुरक्षित स्थल बनेको र पाकिस्तानले अफगानिस्तान तथा भारतलाई लक्षित गर्ने समूहहरूलाई आफ्नो भूमिको प्रयोग गर्न दिएको बताएको छ ।

सेप्टेम्बर महिनाको २३ तारिखमा क्वाड सम्मेलन भएको साँझ ‘पाकिस्तानमा आतंकवादी र अन्य उग्रवादी समूह’ नामक प्रतिवेदन सार्वजनिक भएको थियो । यस प्रतिवेदनअनुसार ‘पाकिस्तानमा असंख्य सशस्त्र, गैर –राज्य लडाकु समूहहरू आफ्ना आतंकवादी अभियान’ चलाउँदै आएको जनाइएको छ । त्यहाँ सन् १९८० देखि अस्तित्वमा आएका केही समूहले पनि आ–आफ्नो अभियान चलाइरहेको र अमेरिकी सेनालाई यसबारे जानकारी रहेको प्रतिवेदनमा भनिएको छ ।

पाकिस्तानमा पाँच प्रकारका आतंकवादी समूहहरू सक्रिय छन् : विश्वव्यापी उन्मुख; अफगानिस्तानउन्मुख; भारत र कश्मीरउन्मुख; घरेलु उन्मुख; र साम्प्रदायिक (सिया विरोधी) उन्मुख ।

अमेरिकी कांग्रेस प्रतिवेदनको द्विदलीय अनुसन्धान शाखाले जनाएअनुसार पाँचवटा श्रेणीमा वर्गीकृत पन्ध्र समूहहरूमध्ये १२ वटा समूहलाई अमेरिकी कानुनबमोजिम विदेशी आतंकवादी संगठन (एफटीओ) को रूपमा नामकरण गरिएको छ । धेरैजसो सबै समूह इस्लामवादी उग्रवादी विचारधाराद्वारा प्रोत्साहित छन् ।

प्रमुख हमलाहरूका लागि जिम्मेवार समूहहरूः

भारत र कश्मीर उन्मुख आतंकवादी वर्गअन्तर्गतका समूहहरूमध्ये पहिलो लस्कर–ए तोयबा (एलईटी) हो । यो १९८० दशकको अन्त्यतिर पाकिस्तानमा गठन गरिएको थियो ।

सन् २००१ मा यस समूहलाई एफटीओअन्तर्रगत नामांकन गरिएको थियो । हाफिज सइदको नेतृत्वमा रहेको र पाकिस्तानको पञ्जाव प्रान्त र पाकिस्तान प्रशासित (आजाद) कश्मीरमा रहेको यो समूह हाल जामत–उद–दावाको सहयोगी संगठनको नेतृत्वमा रहेको छ ।

सन् २००८ मा भारतको मुम्बईमा भएका प्रमुख हमलाहरूका साथै अन्य धेरै ठूला हमलाहरूका लागि यो समूह जिम्मेवार छ । प्रतिवेदनअनुसार यस वर्गमा पर्ने दोस्रो आतंकवादी समूह जैस–ए–मोहम्मद (जेईएम) हो जुन सन् २००० मा कश्मीरी आतंकवादी नेता मसूद अजहरद्वारा स्थापित भएको थियो । यो समूहलाई पनि सन् २००१ मा एफटीओअन्तर्गत नामांकन गरिएको थियो ।

सन् २००१ मा भारतीय संसद्मा भएको आक्रमणका लागि यो समूहलाई जिम्मेवार मानिएको छ ।

भारत र कश्मीर उन्मुख उग्रवादी वर्गअन्तर्गत पर्ने तेस्रो समूह हो, हरकत–उल जिहाद इस्लामी(हुजी)। सन् १९८० मा अफगानिस्तान मा सोभियत सेनासँग लड्नका लागि बनेको यो समूह ले सन् १९८९ पछि भारततिर आफ्नो नजर जमाएको थियो । यद्यपि, यो समूहले अफगानिस्तानमा तालिवानलाई आफ्ना लडाकुहरू आपूर्ति गर्ने गर्दछ ।

त्यस्तै, यस श्रेणीअन्तर्गत पर्ने चौथो संगठन हराकत उल मुजाहाद्दीन(हम) हो । सन् १९९७ मा नै यस समूहलाई एफटीओअन्तर्रगत नामांकन गरिएको थियो । यो समूह मुख्यतया आजाद कश्मीर र केही पाकिस्तानी शहरहरूबाट सञ्चालित छन् ।

सन् १९९९ मा भएको भारतीय विमान अपहरणका लागि जिम्मेवार यस समूहले जेईएम का भावी संस्थापकको भारतीय जेलबाट रिहाइ गराएको थियो । हाल थुप्रै हमका कार्यकर्ताहरू यस समूहमा पलायन भएका छन् ।

भारत र कश्मीर उन्मुख उग्रवादीहरूको श्रेणीअन्तर्गत पर्ने पाँचौं र अन्तिम संगठन हो हिज्ब–उल मुजाहिद्दीन (एचएम) । यस संगठनको स्थापना सन् १९८९ मा पाकिस्तानको सबैभन्दा ठूलो इस्लामवादी राजनीतिक पार्टीको उग्रवादी शाखाको रूपमा भएको थियो । यद्यपि, कश्मीरमा आधारित भए पनि यस संगठनले मुख्य रूपमा पाकिस्तानबाट सहयोग प्राप्त गर्दछ ।

प्रतिवेदनअनुसार पाकिस्तानभित्र सञ्चालित अन्य आतंकवादी संगठनमा भारतीय उपमहाद्वीपमा अल कायदा (एकिस), इस्लामिक स्टेट–खोरासान प्रान्त(आईएसकेपी वा आईएसके), अफगानिस्तान तालिवान, हक्कानी नेटवर्क, तेहरिक–ए–तालिवान पाकिस्तान (टीटीपी), बलुचिस्तान लिवरेसन आर्मी (बीएलए), जुन्दल्लाह (उर्फ जयस अल–अदल), सिपाह–ए–साहाबा पाकिस्तान (एसएसपी), र लस्कर–ए–झांगवी रहेका छन् । यी सम्पूर्ण संगठनका लागि पाकिस्तान एक सुरक्षित आश्रयस्थल बनेको छ ।

अमेरिकी विदेश विभागको आतंकवाद २०१९ (जुन २०२० मा जारी) प्रतिवेदनको हवाला दिँदै, सीआरएस प्रतिवेदनले पाकिस्तान ‘विविध क्षेत्रीय आतंकवाद समूहका निम्ति एक सुरक्षित स्थल’ बनेको र ‘अफगानिस्तान तथा भारतलाई लक्षित गर्ने समूहहरूलाई’ आफ्नो भूमिको प्रयोग गर्न दिएको बताएको छ ।

सीआरएस प्रतिवेदनअनुसार सन् २०१९ मा भारत शासित कश्मीरमा आतंकवादी हमला भएपछि पाकिस्तान सरकारले आतंकवादको वित्तपोषण रोक्न र भारत केन्द्रित केही उग्रवादी समूहहरूलाई रोकथाम गर्न केही सामान्य कदम उठाएको थियो ।

तर पनि पाकिस्तानले भारत र अफगानिस्तान केन्द्रित संगठनविरुद्ध निर्णायक कारबाही गर्न बाँकी छ । सन् २०१५ मा आतंकवादको सामना गर्न बनाइएको राष्ट्रिय कार्ययोजनाअनुसार कुनै पनि ढिलाइ र भेदभावबिना सबै आतंकवादी संगठनहरूको विघटन गर्ने पाकिस्तानले प्रतिबद्धता व्यक्त गरेको थियो । जसको पूर्ण कार्यान्वयन हुन बाँकी नै छ ।

आतंकवादका लागि सुरक्षित आश्रय’ को विषयमा विभागले पाकिस्तान सरकार र सेनाले देशभर आतंकवादी सुरक्षित आश्रयहरूको सम्बन्धमा असंगत व्यवहार गरेको निष्कर्ष निकालेको छ ।

अफगानिस्तानमा पाकिस्तान समर्थित हक्कानी नेटवर्क केन्द्र स्थानमा आएको छ, उता इस्लामावादले भारतमा सीमा पार आतंकवाद फैलाइरहेको छ, यस्तो समयमा यस प्रकारको प्रतिवेदन प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्