रेसुंगा-मदाने क्षेत्रमा ३ सय ५ प्रजातिका चरा



नेपाल समाचारपत्र, गुल्मी । 

गुल्मी जिल्लाको रेसुंगा–मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक विमोचन गरिएको । चरासम्बन्धी अध्ययन गरिरहेको नेपाल पक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले तयार गरेको रेसुंगा–मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक विमोचन गरिएको हो । नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये यस क्षेत्रमा ३५ प्रतिशत चरा रहेको तथ्य कार्यक्रमा प्रकाश पारिएको थियो ।

जिल्ला सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले पुस्तकको विमोचन गरेका थिए । पुस्तक विमोचन गर्दै समन्वय प्रमुख पराजुलीले नेपाल पक्षी संरक्षण संघ गुल्मी रेसुंगा र मदानेमा चरासम्बन्धी गरेको अध्ययन प्रशंसनीय रहेको बताउनुभएको थियो । चरासम्बन्धी अध्ययन गर्ने क्रममा स्थानीय सरकारसँग समन्वय गरेर अरू धेरै काम गर्न सकिने उहाँले उल्लेख गर्नुभएको थियो । पक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुंगा क्षेत्र र मदाने वन क्षेत्रमा चरासम्बन्धी अध्ययन गर्दै आएको छ ।रेसुंगा क्षेत्र रेसुंगा नगरपालिका र गुल्मी दरबार गाउँपालिकसँग जोडिएको छ । मदाने क्षेत्र मदाने गाउँपालिका र मालिका गाउँपालिका स्थानीय तहसँग जोडिएको क्षेत्र हो ।

पुस्तक विमोचन कार्यक्रममा ती स्थानीय तहका प्रमुखहरुको पनि सहभागिता रहेको थियो । पुस्तक विमोचनमा ती स्थानीय तहका प्रमुखहरुले पक्षी संरक्षण संघ गुल्मीले चरासम्बन्धी अध्ययन गरे पनि संरक्षणको आवश्यकता रहेको बताएका थिए ।नेपाल पक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराहरुको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन–जंगलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गरेको भन्दै जिल्लालाई पर्यटनका रूपमा विकास गर्न सकिनेमा जनप्रतिनिहरुले जोड दिएका थिए ।पुस्तक विमोचन कार्यक्रममा नेपाल पक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले रेसुंगा र मदाने क्षेत्रमा पाइने चराको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए । जिल्लाको रेसुंगा र मदानेमा नेपालमा पाइने नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत रहेको तथ्य फेला परेको छ । रेसुंगा क्षेत्रमा २ सय ५३ वटा र मदाने वन संरक्षित क्षेत्रमा २ सय ६४ प्रजातिका चरा फेला परेको पन्थीको भनाइ छ ।

रेसुंगा र मदाने क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चिल, रणमत्त महाचिल, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिल, डंगर गिद्ध रहेका छन् । दुर्लभ चरा भेटिए पनि बासस्थानमा परिर्वतन, विद्युतीकरण, चोरी शिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसञ्चार आवृत्ति जस्ता चुनौती रहेको पन्थीले बताउनुभयो ।रेसुंगा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७ हजार ९ सय ३ हेक्टर रहेको छ । त्यस्तै मदाने वन संरक्षण क्षेत्रमा ५ हजार ७ सय २१ हेक्टर क्षेत्रफल रहेको छ । यी क्षेत्रमा विश्वव्यापीरूपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुरलगायत चराहरु भेटिएको तथ्यांकमा उल्लेख रहेको छ ।

पक्षी संरक्षण संघले डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गर्दै रेसुंगा नगरपालिकाको पराल्मी र भाडागाउँ, गुल्मी दरबारको बलीथुम र जुभुङमा तथा मालिका गाउँपालिकाकको अर्खाबाङ र ह्वाङ्दीमा दुर्लभ चराको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन-जंगलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्