पर्यटन क्षेत्रमा चहलपहल शुरू



नेपाल समाचारपत्र, काठमाडौं ।

कोराना संक्रमणका कारण सिथिल रहेको पर्यटन उद्योगलाई सामान्य अवस्थामा फर्काउने तदारुकता सरकारले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाले सोमबार ४२औं विश्व पर्यटन दिवसमा सक्रियता देखाएका छन् ।

सरकारले पर्यटन दिवसमा साइकल र्‍याली, वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो । अन्तरक्रियामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको पर्यटनलाई सुरक्षाका उपायहरु ऋपनाउँदै र अंगाल्दै चलायमान बनाउनुपर्ने बताउनुभयो । उहाँले पर्यटन खुला गर्नेगरी नयाँ मापदण्ड आएकाले त्यसको अनुशरण गर्दै अगाडि बढ्न व्यवसायीलाई आग्रहसमेत गर्नुभयो ।

महामारीबाट प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब १० लाख जनशक्तिको रोजगार संकटमा परेको सरकारले जनाएको छ । पर्यटन क्षेत्रको जनशक्तिलाई अल्पकालीन रोजगारीको लागि पर्यटन बोर्डले युएनडीपीसँगको सहकार्यमा अल्पकालीन रोजगारीको कार्यक्रम शुरु गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्