पर्यटक अब क्वारेन्टिनमा बस्नु नपर्ने



काठमाडौं, (नेस) ।

लामो समयदेखि थला परेको पर्यटन उद्योगको प्रोत्सान हुने गरी सरकारले पर्यटकलाई अनअराइभले भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्नेजस्ता सरकारी निर्णयप्रति होटल व्यवसायी उत्साहित भएको भन्दै होटल संघ नेपाल (हान) ले सम्पूर्ण सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

सरकारको भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गरेको छ । विदेशबाट खोपको पूर्ण मात्रा पूरा गरी भ्रमणमा आउने पाहुनालाई खोपको मात्रा पूरा भएका होटल क्षेत्रका करिब ९५ प्रतिशतभन्दा बढी अग्रपंक्तिमा रही खटिने कार्मचारी तथा कामदारबाट सेवा सुविधा उपलब्ध हुने हानले जनाएको छ । करिब ४० प्रतिशत नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिदिन पनि व्यवसायीले अनुरोध गरेका छन् । सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्न हानले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्