नाफा सुरक्षित गर्न खोज्दा नेप्सेमा गिरावट



काठमाडौं, (नेस) ।

लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दबाब परेको छ । घट्दो बजारमा सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थालेपछि सुधार भएको थियो । तर, अल्पकालीन लगानी गरेका लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजारमा दबाबमा परेको हो ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घटेर २७५८ दशमलव ४८ बिन्दुमा ओर्लिएको छ । कुल २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार कित्ता शेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै बजार पुँजीकरण ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख रुपियाँ बराबर भएको छ ।सामूहिक लगानी कोषबाहेक अन्य १२ वटा समूहको परिसूचक घटेको छ । सामूहिक लगानी कोष शून्य दशमलव शून्य ३ अंकले बढ्दा बैंकिङ समूह १८ दशमलव २९, व्यापार ९८ दशमलव ७४, होटल तथा पर्यटन ८८ दशमलव ९७, विकास बैंक १३० दशमलव ६४, जलविद्युत् १३५ दशमलव शून्य ३, वित्त १५६ दशमलव १७, निर्जीवन बीमा ३५६ दशमलव ७६, उत्पादन ११६ दशमलव ७५, अन्य ४४ दशमलव १३, लघुवित्त १२० दशमलव ९९, जीवन बीमा ३७१ दशमलव ३१ र लगानी ३ दशमलव २३ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको ३३ करोड ९५ लाख ७३ हजारको कारोबार भएको छ । यस्तै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ३१ करोड ८८ लाख ९९ हजार, नेपाल बैंकको २१ करोड ३४ लाख ९५ हजार, कामना सेवा विकास बैंकको २० करोड ५८ लाख ६२ हजार, नेसनल हाइड्रोपावरको १७ करोड ८३ लाख ७६ हजार र मेगा बैंकको १७ करोड ७० लाख ९१ हजारको कारोबार भएको छ ।

मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । त्यसबाहेक मैलुङखोला जलविद्युत् कम्पनी, सिटिजन म्युचुअल फन्ड, सनराइज फस्ट म्युचुअफ फन्डका लगानीकर्ताले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्