विदेशी विनिमय सञ्चितिले ९ महिनाको आयात धान्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालू आर्थिक वर्षको पहिलो महिना ३ दशमलव २ प्रतिशतले कमी आई १३५३ अर्ब ८२ करोड रुपियाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमासाउन मसान्तमा २ दशमलव ८ प्रतिशतले कमी आई ११ अर्ब ४२ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा साउन मसान्तमा ३ दशमलव १ प्रतिशतले कमी आई १२०६ अर्ब ५१ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा साउन मसान्तमा ४ दशमलव ६ प्रतिशतले कमी आई १४७ अर्ब ३१ करोड कायम भएको छ ।

साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ दशमलव २ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९ दशमलव ३ महिनाको वस्तु आयात र ८ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१ दशमलव ७ प्रतिशत, ६९।४ प्रतिशत र २६ दशमलव ७ प्रतिशत रहेका छन् । असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२ दशमलव ८ प्रतिशत, ८४ दशमलव ७ प्रतिशत र २७ दशमलव १ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्